माओवादी लक्षित एमाले सांसदको कटाक्ष : एक जना कर्मचारी हटाउँदा तीन दिनसम्म 'रुने' बानी छ

काठमाडौँ । नेकपा एमाले सांसद दयालबहादुर शाहीले नेकपा (माओवादी केन्द्र) प्रति लक्ष्य गर्दै एउटा कर्मचारी हटाउँदा तीन दिनसम्म रूने गरेको टिप्पणी गरेका छन्।
पूर्वाधार विकास समितिको बुधबारको बैठकमा बोल्दै उनले कर्मचारीलाई आफ्नो रोल मोडल जस्तो बनाएर रूने असर माओवादीमा रहेको टिप्पणी गरेका हुन्।
उनले एउटा कर्मचारी हटाउँदा रुने व्यक्तिहरूले नै कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने आवाज उठाइरहेको उल्लेख गरे ।
उनले भने, ‘केही कुरा के छ भने हल्लाको पछि लागेका छौँ । अमेरिकाले धेरै कर्मचारी हटायो, धेरै कार्यक्रम खारेज गर्यो, त्यहाँ रोइ कराइ छैन । एक कर्मचारी हटाउँदा तिनै साथी राष्ट्रपति प्रणालीमा जाऔँ भन्छन् । यो प्रणाली खराब भयो भन्छन् । राष्ट्रपतीय प्रणाली आएपछि त डोनाल्ड ट्रम्पभन्दा बलियो राष्ट्रपति हुन्छ हाम्रो । तिनै साथीहरू एउटा कर्मचारी हटाउँदा रोइ कराइ गर्छन् । कुलमान घिसिङको व्यवस्थापकीय क्षमता राम्रो हो । उहाँले आयव्यय देखाउँदा तिर्नुपर्ने दायित्व छुटाएर नाफा देखाउनु भएको थियो । अहिलेका कार्यकारीले तिर्नुपर्ने दायित्व देखाएर घाटा देखाउनु भएको छ । सबैले पढेका छौँ । हिजो मार्क्स, महात्मा गान्धी, लेनिन भन्थ्यौँ । अहिले हामी राजनीतिक मान्छेहरू घटेर कालिदासको सानो कमा अड्किएर बसेका छौँ । कर्मचारीलाई ठूलो बनाएर बसेका छौँ । कुलमान कुलमान गरेर तीन दिनसम्म रुने बानीको असर पनि कतै कतै छ ।’
एमालेकै सांसद प्रेमबहादुर महर्जनले कुलमान घिसिङ बिदाइ हुँदै गर्दा र हितेन्द्र शाक्य आइसकेपछि विद्युत् प्राधिकरण अर्बौँ रुपैयाँ घाटामा गएको भन्ने कुराको स्पष्ट जवाफ माग गरेका छन् । उनले लोडसेडिङको विषयमा पनि जनतालाई स्पष्ट जानकारी दिनुपर्ने बताए ।
तपाईको प्रतिक्रिया