
काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा ५० र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा उनले हस्ताक्षर गरे ।
पौडेलले गरेको पहिलो निर्णयको जानकारी दिँदै डेपुटी गभर्नर बमबहादुर मिश्रले भने, 'उहाँले अहिले गर्नुभएको पहिलो निर्णयमा एक हजार र ५० रूपैयाँको नोट छाप्ने उल्लेख छ। यो निर्णय अनुसार पहिले डिजाइन समितिले डिजाइन तयार गर्छ। डिजाइन समितिबाट पारित भएको डिजाइन सञ्चालक समितिबाट निर्णय भएपछि नोट छाप्ने प्रक्रिया अगाडि बढ्छ।'
पदभार ग्रहणपछि उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए । ‘मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जानेछौं’ गभर्नर पौडेलले भने ।
गभर्नरका अर्का आकांक्षी राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा स्वीकृतिको विषय भने आन्तरिक भएको उनले बताए । राष्ट्र बैंकले कम नियमन गरी सुपरीवेक्षण क्षमता बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।
तपाईको प्रतिक्रिया