पतञ्जली जग्गा काण्ड: सूर्यविनायकका मेयर वासुदेव थापा पनि मुछिए

काठमाडौं। पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री प्रकरणमा भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा पनि प्रतिवादी बनेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा जग्गा किनबेचमा संलग्न रहेको ठहर गर्दै थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगका अनुसार थापाले पतञ्जली समूहसँग मिलेमतोमा काभ्रेपलाञ्चोकको साँगास्थित सात रोपनी आठ आना एक पैसा जग्गा आफ्नो नाममा राखेका छन्, जुन जग्गा कानुन अनुसार सरकारको नाममा हुनुपर्ने थियो। हदबन्दीभन्दा धेरै जग्गा किनबेच गर्न नपाइने कानुनी प्रावधानको उल्लंघन भएको ठहर गर्दै उनलाई मुद्दाको प्रतिवादी बनाइएको हो।
मुद्दा दायर भएसँगै मेयर थापा स्वतः पदबाट निलम्बनमा पर्नेछन्।
यस प्रकरणमा अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगको निष्कर्ष अनुसार जग्गा कारोबारमा उच्च तहसम्मको साँठगाँठ देखिएको छ।
तपाईको प्रतिक्रिया