बुधबार २१ जेठ २०८२
बिजनेस

नेपाली सेनाले गर्दैछ बडिमालिका मन्दिरको पुनर्निर्माण, लागत २ करोड

आइतबार जेठ १८, २०८२/ Sunday 06-01-25

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिकामा अवस्थित ऐतिहासिक र धार्मिक महत्वको शक्तिपीठ बडिमालिका मन्दिरको पुनर्निर्माण नेपाली सेनाको अगुवाइमा सुरु गरिएको छ। त्रिवेणी नगरपालिकाको वडानम्बर ६, ७ र ९ सम्म फैलिएको बडिमालिका क्षेत्र समुद्री सतह देखि ४,२१९ मिटर उचाइमा छ।

धार्मिक विश्वासअनुसार, सतिदेवीको बाँया कुम खसेको यस स्थललाई नेपालका प्रमुख ४ शक्तिपीठ मध्यको एक मानिन्छ। किंवदन्तीअनुसार, यस क्षेत्रका राजा दिपराज छत्याल र जुम्ली राजा बलिराजाले मल्लागिरी पर्वत(हालको बडिमालिका क्षेत्र)मा   सिकार खेल्न जाँदा देवी स्वयं प्रकट भई यो भूमि पवित्र रहेको र आफ्नो उपस्थितका कारण उक्त क्षेत्रमा रगत बगाउन नपाउने भन्दै दुबै राजालाई सिकार गर्नबाट रोकेकी थिइन्। देविले बरु यस क्षेत्रमा मन्दिर बनाई पूजा गर्नाले चाहेको फल प्राप्त हुने र आफुले भक्तजनको भाकलपुरा गर्ने भन्दै मन्दिर बनाउन आज्ञा दिएसंगै राजा दिपराज छत्याल र राजा बलिराजाले यहाँ मन्दिर निर्माण गरेको जनविश्वास रहिआएको छ। यही कारण मन्दिरमा बलि दिने परम्परा निषेध गरिएको छ। भाकलको बलि यसै नगरपालिकाको वडा नम्बर ०७मा  अवस्थित नाटेश्वरी मन्दिरमा दिने चलन रहिआएको छ। मालिका देवि र नाटेश्वरी देवि दुई बहिनी भएको र बडिमालिकामा पूजा गरि नाटेश्वरीमा पूजा गर्दा मागेको वर वा भाकल पुरा हुने विश्वास गरिन्छ ।

हाल सेनाको नेतृत्वमा पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। सामग्रीहरू हेलिकप्टरमार्फत मार्तडीबाट ढुवानी भइरहेको छ। करिब २ करोड रुपैयाँ लागतमा परम्परागत शैलीमा मन्दिर निर्माण गरिनेछ, जसमा सालको काठ, ढुंगा र माटो प्रयोग हुनेछ। परिसरमा हवन कुण्ड र हेलिप्याड पनि निर्माण गरिनेछ।

पुरातत्व विभागको प्राविधिक सहयोगमा भइरहेको यो आयोजनाले धार्मिक आस्था बलियो बनाउने र स्थानीय पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। यहाँ प्रत्येक वर्ष जनैपूर्णिमामा भव्य मेला लाग्ने गर्छ।

 

तपाईको प्रतिक्रिया