शनिबार २४ जेठ २०८२
बिजनेस

नबिल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त

बिहीबार जेठ २२, २०८२/ Thursday 06-05-25

काठमाडौं ।नबिल बैंकले मनोज ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ। बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उनलाई आज (बिहीबार)देखि लागू हुने गरी सीईओको जिम्मेवारी दिएको हो। यसअघि उनी कायममुकाय सीईओको भूमिकामा कार्यरत थिए।

ज्ञवालीले २०७७ साल साउनमा नायब महाप्रबन्धकको हैसियतमा नबिल बैंकमा प्रवेश गरेका थिए। त्यसपछि २०८१ साल पुसमा वरिष्ठ डेपुटी सीईओमा बढुवा भएका उनी २०८१ साल चैत १३ गतेदेखि कायममुकाय सीईओको जिम्मेवारीमा थिए।

दैलेखमा जन्मिएका ४४ वर्षीय ज्ञवालीले करिब २५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका छन्। उनले नेपाल राष्ट्र बैंकमा पाँच वर्ष काम गर्दै नियामक अनुभव समेत संकलन गरेका छन्।

ग्लोबल आईएमई बैंकमा सात वर्ष काम गरेका ज्ञवालीले त्यसअघि दुई वर्षसम्म ज्योति विकास बैंकको नेतृत्व गरेका थिए। पेशाले चार्टर्ड एकाउन्टेन्ट, ज्ञवाली बैंकिङ क्षेत्रमा एक अनुभवी र सक्षम व्यक्तित्व मानिन्छन्।

त्यस्तै, बैंकले नायब महाप्रबन्धक आदर्श बजगाईंलाई नायब प्रमुख कार्यकारी अधिकृत मा पदोन्नति गरेको छ। साथै, प्रमुख कानुन विभागका भिष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी दिइएको छ।

 

तपाईको प्रतिक्रिया