
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत हुँदा विपक्षीहरूले संसद् अवरोध नगर्ने भएका छन् । माओवादी अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले संवैधानिक प्रावधानअनसुार आगमी आर्थिक वर्षको बजेट दिनेमा आफ्नो दल सकारात्मक भएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र दाहालबीच बुधबार भएको टेलिफोन संवादमा उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने उल्लेख गर्दै बजेट प्रस्तुत गर्ने सम्बन्धमा भने सकरात्मक रहेको स्रोतको भनाइ छ ।
‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयनै जोडिएको हुनाले राजीनामा दिनुपर्छ । यसमा तलमाथि हुँदैन,’ दाहालको भनाइ थियो, ‘संवैधानिक प्रावधानअनुसार बजेट प्रस्तुत गर्नेबारे भने हामी सकारात्मक छौं ।’ दाहालले बजेटअघि नै गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएर सहज वातावरण बनाउनु उपयुक्त हुने बताए ।
दोस्रो ठूलो विपक्षी रास्वपाले पनि बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने निर्णय लिएको छ । संसद् भवन बाहिर प्रतिक्रिया दिँदै कार्यबाहक प्रवक्ता मनिष झाले बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने बताए । ‘संवैधानिक प्रक्रिया अनुसार ल्याइने बजेट रोक्दैनौं’, उनले भने ।
उनले गृहमन्त्रीलाई संसदमा बोल्न नदिने भन्ने पार्टीको अडान नरहेको पनि बताए । ‘गृहमन्त्री अघि बोल्न हामीले पाउनुपर्छ भन्ने हाम्रो माग हो । बोल्नै नदिने भनेका छैनौं,’ उनले भने ।
तपाईको प्रतिक्रिया