एनआरएनए मेरिल्याण्ड च्याप्टरको अध्यक्ष पदमा बाबुराम भट्टराईको उम्मेदवारी घोषणा
पारदर्शी र समावेशी नेतृत्वको प्रतिबद्धता
मेरिल्याण्ड, अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) मेरिल्याण्ड च्याप्टरको आगामी कार्यकालका लागि बाबुराम भट्टराईले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। “नेपालीका लागि, नेपालीबाट” भन्ने मूल नारालाई आत्मसात गर्दै भट्टराईले पारदर्शी, समावेशी र नतिजामुखी नेतृत्वद्वारा समुदायमा सकारात्मक परिवर्तन ल्याउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।
भट्टराई हाल एनआरएनए मेरिल्याण्ड च्याप्टरको बोर्ड अफ डाइरेक्टर सदस्यका रूपमा जिम्मेवारी सम्हालिरहेका छन्। त्यस्तै, उनी मिड-वेस्टर्न समाज मेरिल्याण्डका सल्लाहकारको रूपमा समेत क्रियाशील छन्। सामाजिक, सांस्कृतिक र पेशागत रूपले बहुआयामिक अनुभव बोकेका भट्टराईले विगत केही वर्षदेखि नेपाली डायस्पोरा समुदायमा विशेष योगदान पुर्याउँदै आएका छन्। खेलकुद गतिविधिदेखि संगीत कार्यक्रम र विविध सामाजिक सेवासम्म उनी विशेष सक्रियता देखाउँदै आएका व्यक्तिहुन् । उनी अमेरिकी सेनामा सेवा दिइसकेका भूतपूर्व सैनिक समेत हुन्। सन् २०१३ मा नेपालमा आयोजित राष्ट्रिय डिबेट प्रतियोगिता ‘टप ७ डिबेटर’ मा उनले दोस्रो स्थान प्राप्त गर्दै आफ्नो बौद्धिक क्षमताको पनि उच्च प्रमाण प्रस्तुत गरेका थिए। यी उपलब्धिहरूले उनलाई नेपाली समुदायका हरेक उमेर समूहमा लोकप्रिय बनाएको छ।
बच्चादेखि वृद्धसम्म सबैले माया गर्ने भट्टराईलाई धेरैजसो समुदाय सदस्यहरूले “एनआरएनए मेरिल्याण्ड च्याप्टरको लागि सबैभन्दा उपयुक्त उम्मेदवार”को रूपमा चित्रण गरेका छन्। उनको विनम्र स्वभाव, र समर्पित सेवाभावनाले उनलाई केवल उम्मेदवार मात्र होइन, एक प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित गरेको छ।
उम्मेदवारी घोषणा गर्दै भट्टराईले भने, “मेरो उद्देश्य सबै नेपालीलाई एकताबद्ध गर्दै, समावेशी नेतृत्वद्वारा सशक्त र समृद्ध समुदाय निर्माण गर्नु। पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक कार्यशैली मेरो मार्गदर्शक हुनेछ। तपाईंहरूको साथ र विश्वासकै आधारमा म अघि बढ्न चाहन्छु।”
तपाईको प्रतिक्रिया