१० वर्षपछि फेरि माओवादीमा फर्किए गंगानारायण श्रेष्ठ, सचिवको जिम्मेवारी

काठमाडौं । नेकपा माओवादी केन्द्रमा फर्किएका नेता गंगानारायण श्रेष्ठले केन्द्रीय सचिव पद पाएका छन् ।
सोमबार ललितपुरस्थित ग्वार्कोमा एकता सभा गरी उनी माओवादीमा फर्किएका हुन् । दुई पाटीबीच भएको ५ बुँदे सहमतिअनुसार उनले सचिवको जिम्मेवारी पाएका छन् ।
लामो समय वामपन्थी राजनीतिमा सक्रिय रहेका श्रेष्ठले २०७२ सालमा माओवादी परित्याग गरेका थिए । उनले राजनीतिको हरेक मोडमा डा. बाबुराम भट्टराई निकट रहेर काम गरेका थिए ।
भट्टराईले थालेको वैकल्पिक नयाँ शक्ति अभियानलाई साथ दिन श्रेष्ठ माओवादी केन्द्रबाट बाहिरिएका थिए ।
२०७२ मा संविधान जारी भएपछि भट्टराईले असोज ९ गते माओवादी परित्याग गरी नयाँ शक्ति नेपाल गठन गरेका थिए । २०७४ सालको निर्वाचनमा नयाँ शक्ति नेपालले देशभर लज्जास्पद हार व्यहोर्यो । निर्वाचनमा पराजयपछि उपेन्द्र यादव र अशोक राई नेतृत्वको संघीय समाजवादीपार्टीसँग नयाँ शक्ति नेपालले एकता गरी जनता समाजवादी पार्टी(जसपा) नेपाल गठन भएको थियो ।
तपाईको प्रतिक्रिया