बंगलादेशी तयारी कपडा र खाद्यवस्तु आयातमा भारतको प्रतिबन्ध

काठमाडौं । भारतले बंगलादेशबाट हुने केही वस्तुको आयातमा बन्दरगाह प्रतिबन्ध लगाएको जानकारी दिएको छ ।
भारतको वाणिज्य मन्त्रालयले शनिबार बंगलादेशका तयारी कपडा, प्रोसेस्ड फुड (प्रशोधित खानेकुरा) र फर्निचर लगायतका सामग्री आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
भारतको वाणिज्य मन्त्रालय अन्तर्गत डाइरेक्टरेट जनरल अफ फरेन ट्रेड (डीजीएफटी)ले शनिबार जारी गरेको सूचनामा यो प्रतिबन्ध तत्काल लागु हुने उल्लेख छ । योसँगै बंगलादेशबाट तयारी गार्मेन्टहरूको आयात अनुमति कुनै पनि बन्दरगाहबाट पाइनेछैन ।
जसअनुसार, बंगलादेशबाट तयारी पोशाकको आयात कुनै पनि स्थल बन्दरगाह (जस्तै आसम, मेघालय, त्रिपुरा, मिजोरमका बन्दरगाह र पश्चिम बंगालको चांगरबांधा र फूलबारी) बाट गर्न पाइने छैन । यी वस्तुको आयात अब केवल मुम्बईको न्हावाशेवा र कोलकाताको समुद्री बन्दरगाहबाट मात्र गर्न अनुमति दिइनेछ ।
डीजीएफटीका अनुसार बंगलादेशबाट माछा, एलपीजी, कुचिएको ढुंगा र खाद्य तेलको आयातमा यी बन्दरगाह प्रतिबन्ध लागू हुँदैन् । तर यो प्रतिबन्ध भारत हुँदै नेपाल र भुटान जाने बंगलादेशी सामानमा लागू हुने छैन । भारत सरकारले यो कदम बंगलादेशले भारतीय निर्यातमा लगाएको उच्च शुल्क र आयात निरीक्षणजस्ता प्रतिबन्धको जवाफमा उठाइएको बताइएको छ ।
तपाईको प्रतिक्रिया