मंगलबार ३० बैशाख २०८२
राजनीति

'पक्राउ पुर्जी जारी भएका सांसद प्रधानमन्त्रीसँगै बस्ने सुशासनको कुन नमुना हो ?'

मंगलबार बैशाख ३०, २०८२/ Tuesday 05-13-25

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले लुम्बिनी प्रदेशका नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पन्थीलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका छन् । 

आज प्रतिनिधिसभा बैठकमा सांसद बरालीले प्रहरी जाँदा भेट नहुने सांसद प्रधानमन्त्रीसँग एउटै मञ्चमा देखिएको भन्दै प्रश्न उठाएका हुन् ।

“सुशासनको ठेक्का लिएको सरकार छ । पक्राउ पुर्जी जारी भएको आफ्नै सांसद छन् । प्रहरी प्रशासन जाँदा भेट नभएको जानकारी आउँछ । प्रधानमन्त्रीसँग कुम ठेलेर मञ्चमा बस्ने । सुशासनको कुन चाहिँ नमुना हो ?,” उनले भने ।

सोमबार लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा पन्थी प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित कार्यक्रममा अतिथिका रूपमा सहभागी भएका थिए ।

सांसद बरालीले सरकारले गभर्नर नियुक्तिमा समेत ढिलाइ गरेको उल्लेख गर्दै आम नागरिकले हेरिरहेको उल्लेख गरे । उनले भने, ‘ अर्को कुरा, गभर्नर नियुक्तिको सवालमा संसारले देख्ने गरी, इतिहासलाई नै ब्रेक गर्ने गरी रिक्त रहेको अहिलेको अवस्था छ । यो विषयमा के हुनुपर्ने हो के भइरहेको छ दुनियाँको अगाडि छर्लङ्ग छ ।’

तपाईको प्रतिक्रिया