हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । जिल्ला हुलाक कार्यालय, बारामा कार्यरत तथा हाल कार्यालय प्रमुखसमेत रहेका नायब सुब्बा बलीराम प्रसाद कुर्मीसहित पाँच जना तत्कालीन कर्मचारीविरुद्ध पाँच करोड रुपैयाँभन्दा बढीको सरकारी रकम हिनामिना गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
उनीहरूले पाँच करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेर भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा जिल्ला हुलाक कार्यालय बारामा तत्कालीन नासु पदमा कार्यरत बलिरामप्रसाद कुर्मी, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव र सुजितकुमार साह छन् ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार दायर गरिएको आरोपपत्रमा अभियुक्तहरूले हुलाक बचत बैंकमा सर्वसाधारणबाट संकलन भएको बचत रकम कुनै आधिकारिक अभिलेख नराखी अपचलन गरेको उल्लेख गरिएको छ। कुर्मीले २०६० सालदेखि हुलाक बचत बैंकको जिम्मेवारी सम्हाल्दै आएकामा, उक्त अवधिभर बैंकको रकम कार्यालयको नगदी रजिस्टरमा प्रविष्टि नगरी, लेजर बुक र पासबुकमा मात्र विवरण देखाई आफूखुसी रुपमा रकमको दुरुपयोग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट खुलेको छ।
विशेष अदालतमा दायर आरोपपत्रमा उल्लेख भएअनुसार, कुर्मीले तत्कालीन कार्यालय प्रमुखहरूसँग मिलेमतो गरी बचतकर्ताबाट संकलित रकम आपसी बाँडफाँड गरी, रकमको साँवा-ब्याजसहित पाँच करोड पैँतीस लाख चौसठ्ठी हजार दुई सय उनासी रुपैयाँ तेत्तीस पैसा दुरुपयोग गरेको देखिएको छ।
त्यसपछि अनुसन्धान भई बारा जिल्ला अदालतमा ठगी मुद्दा दायर भई हाल पुर्पक्षका लागि थुनामा रहेको बेहोराको उजुरीका सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको थियो ।
दफा १७ अनुसार सबै आरोपितहरूविरुद्ध बिगो कायम गरी सोही रकम बराबर कैद र जरिवानाको मागदाबी गरिएको छ।
तपाईको प्रतिक्रिया