शुक्रबार २६ बैशाख २०८२
राजनीति

राजावादी समूहको घोषणा : जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन

बिहीबार बैशाख २५, २०८२/ Thursday 05-08-25

काठमाडौं । राजावादी समूहले यही जेठ १५ गतेदेखि राजसंस्था पुन:स्थापनाका लागि भन्दै अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन् । 

पूर्व मन्त्री, तत्कालीन राष्ट्रिय पञ्चायतका पूर्व अध्ययसमेत रहेका सुवेदीले राजसंस्था पुनर्स्थापनको लागि आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका हुन् ।

आज (बिहीबार) राजावादी समूहरुले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्तमान व्यवस्थाले आर्थिक, सामाजिक र सांस्कृतिक संकट, विवाद र द्वन्द्वको अवस्था सिर्जना गरेको दाबी गरे ।

संयोजक सुवेदीले नेपाल अहिले गम्भीर आर्थिक संकटको संघारमा आइपुगेको पनि बताए । ‘२०७२ साल असोजमा जारी गरिएको संविधानले स्थापना गरेको संघीय, धर्मनिरपेक्ष गणतन्त्र पूर्ण रुपमा असफल प्रमाणित भएको छ,’– उनले भने ।

संयुक्त जनआन्दोलन परिचालन समितिको नेतृत्वमा हुने उक्त आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल), नेपाली कांग्रेस विपी, शिवसेना नेपाल, नेपाल प्रागिक मञ्चलगायतका राष्ट्रवादी दल र शक्तिहरुको समर्थन रहेको बताइएको छ ।

जनताको प्रत्यक्ष अभिमतविना नै बाह्य शक्तिहरुको प्रभाव र उग्र वामपन्थी माओवादीको दवाबमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता लादिएको उनको आरोप छ । लोकतन्त्रको आवरणमा दलका सीमित नेताहरुले सिन्डिकेट खडा गरेर देशमा ब्रम्हलुट मच्चाइरहेको उनको आरोप छ । राज्यका सबै निकाय र संरचनाहरु पनि पार्टीकरण भएको र कानुनी राज्यको उपहास भइरहेको उनको आरोप छ ।

तपाईको प्रतिक्रिया