शनिबार २७ बैशाख २०८२
राजनीति

आतंकवादको विरूद्धमा हुने कारबाहीलाई जायज ठान्छौं: प्रवक्ता महत

शुक्रबार बैशाख २६, २०८२/ Friday 05-09-25

काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेस सबै किसिमकोआतंकवादको विरूद्धमा रहेको बताएका छन्।

शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकपछि बोल्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस आतंकवादको विरुद्धमा रहेको बताएका हुन्।

उनले भारत र पाकिस्तानबीच भइरहेको द्वन्द्वप्रति पार्टीले निहत्था नागरिकमाथि भएको आक्रमणको निन्दा गरेको जानकारी दिएका थिए। उनका अनुसार कांग्रेसले आतंकवादको विरुद्धमा गरिने कारबाहीलाई न्यायोचित ठान्दछ। साथै पाकिस्तान र भारतबीच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा कांग्रेस रहेको उनले बताएका थिए।

‘भारत र पाकिस्तानबीच जुन द्वन्द्व चर्किएको छ, त्यसअघि भारतको पहलगाममा भएको आतंकवादी आक्रमणमा लक्षित रूपमा निहत्था सर्वसाधारणमाथि आक्रमण भयो। त्यसको नेपाली कांग्रेसले कडा शब्दमा निन्दा गरेको छ। पछिल्लो समयको परिस्थितिमा पनि कांग्रेस जहिल्यै आतंकवादको विरुद्धमा रहेको छ,’ प्रवक्ता महतले भने ।

तपाईको प्रतिक्रिया