रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट, प्रहरीले थाल्यो अनुसन्धान

रौतहट। रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि अमानवीय तरिकाले निर्घात कुटपिट भएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक एक भिडिओमा एक व्यक्तिमाथि निर्घात कुटपिट भएको देखिन्छ । ती व्यक्तिको पैतलामा सेतो पाइप जस्तो देखिने वस्तुले निर्घात कुटपिट भएको भिडिओमा देखिन्छ ।
तीन जनाले एक व्यक्तिलाई लडाएर समाएका छन् भने अर्का एक व्यक्तिले पैतलामा लाट्ठीले कुटेको देखिन्छ । ४१ सेकेण्ड लामो भिडिओमा कुटपिटबाट व्यक्ति कराएको आवाज नसुनिओस् भन्ने हिसाबले पृष्ठभूमिमा संगीत बजाएको बजाएको सुनिन्छ ।
उक्त भिडिओ गौरमा एक व्यक्तिले सञ्चालन गरेको सुधार केन्द्र रहेको खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपक कुमार रायले बताए । ‘भिडिओ हाम्रो जानकारीमा आएसँगै यसबारे अनुसन्धान अघि बढाएका छौं,’ डीएसपी रायले भने ।
रायका अनुसार यसका सञ्चालकलाई समेत बोलाएर अनुसन्धान सुरु गरिएको छ । यो सुधार केन्द्रका सञ्चालकलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर घटनाबारे अनुसन्धान अघि बढाइएको उनले बताए ।
अनुसन्धानपछि भिडिओको वास्तविकता पत्ता लाग्ने र त्यसपछि कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए ।
तपाईको प्रतिक्रिया