शुक्रबार २६ बैशाख २०८२
राजनीति

पाकिस्तानी सैनिक भ्रमण यो बेला उपयुक्त थिएन : एनपी साउद

बुधबार बैशाख २४, २०८२/ Wednesday 05-07-25

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले पाकिस्तानको उच्चस्तरीय सैन्य प्रतिनिधिमण्डलको नेपाल भ्रमणमा प्रश्न उठाएका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा नेता साउदले भारत र पाकिस्तानबीच गम्भीर तनाव भएको समयमा पाकिस्तानी सैन्य भ्रमण स्थगन गर्नु पर्ने बताएका छन् । 

“पहलगाम आतंककारी घटनाले छिमेकी भारत र पाकिस्तानबीच गम्भीर तनावको स्थिति उत्पन्न गराएको छ । यस सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्नुभएको सार्वजनिक भइसकेको छ,” साउदले भने, “तर, छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्थानको उच्चस्तरीय सैनिक प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरेको देखिन्छ ।”

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका साउदले भारतको जम्मु–कश्मीरमा पर्ने पहलगाममा नेपाली युवक सुदीप न्यौपानेसहित २६ जना निर्दोष व्यक्तिहरूको निर्ममतापूर्वक हत्याको प्रति दुःख व्यक्त गरे । 

‘विश्वव्यापी आतंकवादीहरूबाट भइरहेका आक्रमणहरूको सिकार हुनबाट नेपालीहरू पनि अछुतो रहन सकेका छैनन्,’ उनले भने, ‘पहलगाम आतंककारी घटनाले हाम्रो छिमेकी मित्रराष्ट्र भारत र पाकिस्तानबिच गम्भीर तनावको स्थिति उत्पन्न भएको छ ।’ 

‘भ्रमण पूर्वनिर्धारित नै भए पनि वर्तमान स्थितिका बारे संवेदनशील भएर कूटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतीक्षा गर्नुपर्ने आवश्यकता थियो,’ नेता साउदले भने ।

नेपाली सेनाले वैशाख २१ गते विज्ञप्ति जारी गरी भ्रमणबारे औपचारिक जानकारी गराएको थियो । पाकिस्तानको नेसनल डिफेन्स युनिभर्सिटीमा तालिमरत शिक्षार्थीको १२ सदस्यीय उच्चस्तरीय सैन्य प्रतिनिधिमण्डल ६ दिने नेपाल भ्रमणमा आएको जानकारी गराइसकेको छ । 

 

तपाईको प्रतिक्रिया