बुधबार १ जेठ २०८२
समाज

सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधि, चीन र भारतीय प्रतिनिधिको विशेष सम्बोधन

मंगलबार बैशाख ३०, २०८२/ Tuesday 05-13-25

काठमाडौं । आगामी जेठ २ गतेदेखि सुरु हुन लागेको सगरमाथा संवादमा १७५ जना विदेशी पाहुना र नेपालीसहित ३५० जना सहभागीहरुले भाग लिने बताइएको छ ।

आज (मंगलबार) सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी ‘सगरमाथा संवाद’ को पहिलो संस्करणको तयारी सम्बन्धमा जानकारी गराइएको हो । आगामी जेठ २ गतेदेखि सगरमाथा संवाद आयोजना गरिएको छ ।

सगरमाथा संवादमा विभिन्न १२ वटा देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुने बताइएको छ । छिमेकी मुलुक चीनबाट नेशनल पिपल्स कंग्रेस (एनपीसी) का उपाध्यक्ष सिआयो जी र भारतबाट वन मन्त्री भूपेन्द्र यादव सगरमाथा संवादमा भाग लिन आउने बताइएको छ ।

त्यसैगरी, बंगलादेशका सामाजिक कल्याण मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयका सल्लाहकार सर्मिन सोनेया मुर्सिद, भुटानका उर्जामन्त्री जेम छिरिङ, माल्दिभ्सका पर्यटन तथा वतावरण मन्त्री थोरिक इब्राहिम पनि सहभागी हुन आउने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सगरमाथा संवादमा जपानबाट त्यहाँका उपविदेशमन्त्री इकुइना अकिको, अजरबैजानबाट प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायेभ, संयुक्त अरब इमरेट्सका उर्जा तथा दिगोपानाका लागि सहायक विदेश मन्त्री अब्दुला बलालालगायतले भाग लिनेछन् ।

तीन दिनसम्म सञ्चालन हुने संवाद कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। परराष्ट्रमन्त्री डा. राणाले पाहुनाहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको तथा संवादसम्बन्धी चिनारीयुक्त भिडियो पनि प्रस्तुत गरिने जानकारी दिइन्।

तपाईको प्रतिक्रिया