मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमारसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियारले सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा उनी सहित बागमती नगरपालिकाका मेयर भरत थापा, पूर्वप्रमुख लिलाकुमारी मोक्तान लगायत ८ जना माथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
विजय कुमार पूर्व आर्थिक मामिला तथा योजना मन्त्री हुन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरेको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी ढुंगा, गिटी, बालुवा, माटोजस्ता वन पैदावार गैरकानुनी रुपमा उत्खनन गरी बनेको खाल्डोमा माछापोखरी निर्माणको नाममा भ्रष्टाचार गरेको अख्तियारको अभियोग छ । संघीय सरकार, प्रदेश सरकारसमेतको करोडौं रकमबाट गैरकानुनी तवरमा पोखरी समेतका संरचना निर्माण गरी सरकारी सम्पत्ति हानिनोक्सानि गरेको अभियोगपत्रमा उल्लेख छ ।
५६ करोड ७१ लाख ७ हजार २९२ रुपैयाँ हानिनोक्सानी र दुरुपयोग गरे गराएको ठहर गर्दै सोही बमोजिमको सजायको मागदाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
तपाईको प्रतिक्रिया