भैरहवा विमानस्थल छानबिन गर्न गठित लेखा उपसमिति संयोजकमा खाँण

काठमाडौँ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद मन्जु खाण चयन भएकी छन्।
उपसमितिको आइतबार बसेको बैठकले खाँणलाई संयोजक चयन गर्ने निर्णय लिएको समितिका सचिव तथा संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
यसअघि उपसमिति संयोजकमा नेकपा (एमाले) का सांसद योगेश भट्टराई थिए।
भट्टराईले वैशाख २१ गते बसेको सार्वजनिक लेखा समिति बैठकमा आफू भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा नबस्ने बताएका थिए।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई रहेपछि रास्वपा सांसद मनीष झाले प्रश्न उठाएका थिए।
सांसद झाले समितिको बैठकमा पूर्वपर्यटन मन्त्री रहेका भट्टराईले उपसमितिको नेतृत्व गर्दा प्रतिवेदनमाथि प्रश्न उठ्न सक्ने बताएका थिए। त्यसपछि भट्टराईले मन्त्री भइसकेको व्यक्ति उपसमितिको संयोजक बस्नु हुँदैन भनेर प्रश्न उठेकाले समितिमा नरहने जानकारी गराएका थिए।
सार्वजनिक लेखा समितिले २७ जेठ २०८१ मा राष्ट्रिय गौरवको आयोजनाका रूपमा सम्पन्न भएका गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा निर्माण सम्पन्न हुँदा पनि सञ्चालनमा आउन नसकेको तथा निर्माणमा त्रुटि रहेको उजुरी परेको भन्दै स्थलगत अध्ययन तथा अनुगमन गर्न उपसमिति गठन गरेको थियो । सोही दिन राप्रपा सांसद राजेन्द्र लिङ्देनको संयोजकत्वमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएका अनियमितता र भ्रष्टाचार छानबिन गर्न उपसमिति गठन गरिएको थियो ।
लिङ्देन नेतृत्वको उपसमितिले पोखरा विमानस्थल निर्माणका क्रममा कम्तीमा १० अर्ब रकम भ्रष्टाचार भएको ठहरसहित त्यसमा संलग्न व्यक्तिलाई कारबाहीको सिफारिससहित प्रतिवेदन लेखा समितिलाई बुझाइसकेको छ ।
तपाईको प्रतिक्रिया