आइतबार ४ जेठ २०८२
राजनीति

माओवादीसँगको संवाद संयोग हो, गठबन्धन गर्ने कुनै योजना छैन : कांग्रेस

शनिबार जेठ ३, २०८२/ Saturday 05-17-25

काठमाडौँ । नेपाली कांग्रेसले अहिलेको सत्तारुढ गठबन्धन परिवर्तन गर्ने पार्टीको कुनै सोच नरहेको स्पष्ट पारेको छ ।

शनिबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख सचेतक श्याम घिमिरेले माओवादीसँग गठबन्धनको कुनै सम्भावना नभएको बताएका हुन् ।

प्रमुख सचेतक घिमिरेले पार्टी सभापतिले माओवादी नेताहरूसँग छलफल गर्नु सामान्य भएको भन्दै माओवादीसँग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको स्पष्ट पारे । उनले गभर्नर नियुक्तिको विषय प्राविधिक कारणले ढिलाइ भएको र यसमा सत्ता साझेदार दल नेकपा एमालेले दिन नचाहेको भन्ने कुरामा पनि कुनै सत्यता नरहेको जिकिर गरे । उनले अब चाँडै नै गभर्नर नियुक्ति हुने पनि स्पष्ट पारे ।

त्यसैगरी, कांग्रेस सांसद प्रकाशशरण महतले पनि डडेलधुराबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी सभापति शेरबहादुर देउवालाई फोन गर्नु संयोग मात्र भएको बताए । यसअघि देउवाको गृह जिल्ला पुगेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेको स्मरण गर्दै उनले प्रचण्डले पनि त्यहाँ पुगेर देउवालाई सम्झेको मात्र जिकिर गरे । 

महतले प्रचण्ड र सभापतिबिचको कुराकानी सामान्य विषय भएको र यसमा सरकार परिवर्तनको कुनै गुञ्जायस नरहेको जिकिर गरे । महतले ठुला दुई पार्टीको गठबन्धन रहेको अवस्थामा कांग्रेसका कुराहरू यथेष्ट सुनिएन की भन्ने चिन्ता सांसदहरूको रहेको बताए । कतिपय नियुक्तिमा भइरहेको ढिलाइका विषयमा पनि सांसदहरूले चासो व्यक्त गरेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया