गभर्नरमा मेरो कोही ल्याउनु छैन, क्षमतावान व्यक्ति नियुक्त हुन्छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्ति हुने बताएका छन् ।
बिहीबार काठमाडौँमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यता क्रमका आधारमा क्षमतावान् व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको स्पष्ट पारेका हुन् ।
गभर्नर नियुक्तिका विषयमा सत्तारुढ दलहरूकै बीचमा समेत विवाद छ। यसअघि गभर्नरका लागि गुणाकर भट्टको नाम सिफारिस भएको थियो भने पछिल्लो पटक विश्व पौडेलको चर्चा छ। भट्टका विषयमा मुद्दा परेपछि कांग्रेसले पौडेललाई अघि सारेको हो।
प्रधानमन्त्री ओली भने राष्ट्र बैंकका कायम मुकायम निलम ढुंगानालाई नै गभर्नर बनाउने गरी छलफल थालेको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ।
प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको स्पष्ट गरे। एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेको बाहेक अरु पदाधिकारीसँग आफ्नो व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको उनको भनाइ थियो।
तपाईको प्रतिक्रिया