फिलिपिन्समा दुई सैन्य विमान दुर्घटना, चार पाइलटको मृत्यु
मनिला । उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा प्रशिक्षण उडानका क्रममा दुईवटा सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चार पाइलटको मृत्यु भएको छ। फिलिपिन्स वायुसेनाले शनिबार घटनाको पुष्टि गरेको हो।
वायुसेनाका अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित हवाई आधारनजिकै एसएफ–२६० मोडलका दुई विमान दुर्घटनामा परेका थिए। दुर्घटनामा चारै पाइलटको मृत्यु भएको जनाइएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ। घटनाको वास्तविक कारण पत्ता नलागेसम्म वायुसेनाले आफ्ना सबै एसएफ–२६० विमानको उडान अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ।
एसएफ–२६० हल्का विमान हो, जसलाई फिलिपिन्स वायुसेनाले मुख्यतः पाइलट प्रशिक्षणका लागि प्रयोग गर्दै आएको छ।
यसअघि गत मे २० मा पनि उत्तरी फिलिपिन्सकै बेन्गुएट प्रान्तमा एसएफ–२६० विमान दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनामा दुई पाइलटको मृत्यु भएको थियो।
लगातार भएका यस्ता दुर्घटनापछि सैन्य प्रशिक्षण उडानको सुरक्षा र विमान सञ्चालनसम्बन्धी व्यवस्थामाथि थप अनुसन्धान गर्नुपर्ने देखिएको छ।
तपाईको प्रतिक्रिया