चितवनमा तीन महिनामा ३ हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
नारायणगढ । चितवनमा चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन्। सोही अवधिमा नागरिकताको प्रतिलिपि लिनेको संख्या ६ हजार ७६६ रहेको छ।
जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट उक्त अवधिमा २८ जनाले नागरिकता परित्याग गरेका छन् भने चार जनाको नागरिकता रद्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता लिएका हुन्।
जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्त गर्नेमा एक हजार ४१८ महिला र एक हजार ४०६ पुरुष छन्। माडीबाट नागरिकता लिनेमा १२२ महिला र ११६ पुरुष रहेका छन्।
यस अवधिमा जिल्ला प्रशासन कार्यालयबाट १५ महिलाले वैवाहिक अङ्गीकृत नागरिकता र ११ जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन्। अङ्गीकृत नागरिकता लिनेमा सात महिला र चार पुरुष छन्। त्यस्तै, ३१ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन्। उनीहरूमध्ये नौ महिला र २२ पुरुष छन्।
६ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी
तीन महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालय चितवनबाट ६ हजार ११६ र इलाका प्रशासन कार्यालय माडीबाट ६५० नागरिकताको प्रतिलिपि जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि लिनेमा दुई हजार ९८७ महिला, तीन हजार १२८ पुरुष र एक अन्य रहेका छन्। माडीबाट प्रतिलिपि लिनेमा ३२३ महिला र ३२७ पुरुष छन्।
यसैगरी, जिल्ला प्रशासन कार्यालय चितवनबाट ११ हजार ९९७ जनाको राष्ट्रिय परिचयपत्रका लागि नयाँ विवरण दर्ता गरिएको छ भने चार हजार ३७० वटा परिचयपत्र वितरण गरिएको छ। राहदानीका लागि पाँच हजार ८५२ जनाको सिफारिस गरिएको र चार हजार २४३ वटा राहदानी वितरण गरिएको सूचना अधिकारी विकले जानकारी दिए।
अन्य प्रशासनिक सेवा पनि सञ्चालन
जिल्ला प्रशासन कार्यालयबाट तीन महिनामा ३२६ जनाको नाबालक परिचयपत्रका लागि नयाँ विवरण दर्ता गरिएको छ भने ११ वटा प्रतिलिपि जारी भएका छन्। यस अवधिमा ३१६ वटा जातीय प्रमाणित, ३१७ वटा भारतीय पेन्सन सिफारिस, १२५ वटा व्यक्ति प्रमाणित र एक हजार ११४ वटा अन्य सिफारिससम्बन्धी काम भएका छन्।
यता, इलाका प्रशासन कार्यालय माडीबाट एक हजार २५५ जनाको राष्ट्रिय परिचयपत्रका लागि नयाँ विवरण दर्ता गरिएको छ भने ७४८ वटा परिचयपत्र वितरण गरिएको छ।
माडी कार्यालयबाट १० जनाको नाबालक परिचयपत्रका लागि नयाँ विवरण दर्ता गरिएको र २३ वटा जातीय प्रमाणितसम्बन्धी काम भएको छ। सोही अवधिमा माडीबाट एक महिलाले वैवाहिक अङ्गीकृत नागरिकता र एक जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन्।
तपाईको प्रतिक्रिया