दसैँमा मापसे र लापसे गरी सवारी चलाउने १ हजार ३७ चालक कारबाहीमा
काठमाडौँ । बडादसैँको अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्मको १४ दिनमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको हो।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार मापसे गरी सवारी चलाएको आरोपमा कारबाहीमा परेकामध्ये ५९ जना सार्वजनिक सवारीसाधनका चालक हुन्। लापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ३५ जना नै सार्वजनिक सवारीका चालक रहेको उनले जानकारी दिए।
चाडपर्वका बेला यात्रुको आवागमन बढ्ने र सडकमा सवारीसाधनको चाप थपिने भएकाले मापसे तथा लापसे गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने ट्राफिक प्रहरीको भनाइ छ। यस्ता गतिविधि नियन्त्रण गर्न उपत्यकाका विभिन्न स्थानमा निगरानी र जाँचलाई तीव्र पारिएको कार्यालयले जनाएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले सडक दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षाका लागि मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकविरुद्ध कारबाहीलाई निरन्तरता दिइएको बताए।
नेपालमा मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारी चलाउन कानुनले निषेध गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लगायत प्रचलित कानुनी व्यवस्थाअनुसार यस्तो कसुर गर्ने चालकलाई कारबाही गरिन्छ।
ट्राफिक प्रहरीले चालकलाई सवारी चलाउनुअघि मादक पदार्थ तथा लागुपदार्थ सेवन नगर्न, ट्राफिक नियमको पालना गर्न र यात्रुको सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया