फुर्के खोलाको पुल बगाएपछि झोलुंगे पुलबाट मोटरसाइकल वारपार, यात्रुलाई सास्ती
धादिङ । भदौ १० गते आएको बाढीले धादिङबेसी र पृथ्वी राजमार्ग जोड्ने फुर्के खोलाको पुल बगाएपछि यात्रुहरूलाई आवतजावतमा सास्ती भएको छ। दसैँपछि काठमाडौँ फर्किने मोटरसाइकल यात्रुहरू अहिले त्रिशूली नदीमाथिको झोलुंगे पुल प्रयोग गर्न बाध्य भएका छन्।
बेनिघाट रोराङ गाउँपालिका–३ स्थित राजमार्ग हस्पिटलनजिक रहेको झोलुंगे पुलबाट मोटरसाइकल र पैदलयात्रुहरू वारपार गरिरहेका छन्। शनिबार पुल तर्न मोटरसाइकलको लाम लागेको थियो।
साँघुरो पुल भएकाले एकैपटक धेरै मोटरसाइकल वारपार गर्न नसकिने हुँदा यात्रुहरूले पालो कुर्नुपर्ने अवस्था छ। यसले गर्दा मोटरसाइकल चालक तथा पैदलयात्रुले थप झन्झट बेहोर्नुपरेको छ।
झोलुंगे पुल पार गरेपछि यात्रुहरूले करिब एक किलोमिटर कच्ची बाटो पार गर्नुपर्छ। त्यसपछि मात्रै फुर्के खोला हुँदै धादिङबेसी जोड्ने कालु पाण्डे राजमार्गको परेवाटार पुग्न सकिन्छ।
बाढीले मुख्य पुल बगाएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको यो जोखिमपूर्ण र झन्झटिलो आवागमनले यात्रुहरूलाई असहज बनाएको छ।
तपाईको प्रतिक्रिया