शनिबार ७ कार्तिक २०८३
खेलकुद

एनपीएलमा सुदूरपश्चिम रोयल्सले भित्र्यायो वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्ड

शनिबार कार्तिक ७, २०८३/ Saturday 10-24-26

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डलाई अनुबन्ध गरेको छ।

२८ वर्षीय बायाँहाते ब्याटर रदरफोर्ड अन्तर्राष्ट्रिय क्रिकेटसँगै विश्वका विभिन्न फ्रेन्चाइज लिगमा अनुभव बटुलेका खेलाडी हुन्। उनले वेस्ट इन्डिजका लागि ३१ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

टी–२० क्रिकेटमा आक्रामक ब्याटिङका लागि परिचित रदरफोर्डले आफ्नो करियरमा २८३ खेल खेल्दै पाँच हजार ९० रन बनाएका छन्। यस क्रममा उनले ३२४ छक्का प्रहार गरेका छन्। उनको टी–२० ब्याटिङ स्ट्राइक रेट १४२.०५ रहेको छ।

रदरफोर्डले इन्डियन प्रिमियर लिग (आईपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) र क्यारेबियन प्रिमियर लिग (सीपीएल) जस्ता चर्चित प्रतियोगितामा समेत खेलिसकेका छन्।

सन् २०२५ को आईपीएलमा गुजरात टाइटन्सबाट खेलेका उनले १३ खेलमा २९१ रन बनाएका थिए। उनको आक्रामक ब्याटिङ क्षमताले एनपीएलको नयाँ सिजनमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ पक्षलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया