मंगलबार ३० बैशाख २०८२
समाज

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

सोमबार बैशाख २९, २०८२/ Monday 05-12-25

काठमाडौँ । वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो । 

विभागका निर्देशक हिमाल गौतमले भने,“सगरमाथामा तीव्र गतिको हावा बहेका कारणले गर्दा आज आरोहण हुन नसकेको खबर आएको छ ।” आरोहणको तयारीमा रहेका धेरै सङ्ख्याका आरोही अहिले सुरक्षित स्थलतर्फ फर्किदैछन् । 

अक्सिजन पर्याप्त भएका आरोही भने दोस्रो र तेस्रो शिविरमा अनुकूल मौसमको प्रतिक्षामा छन् । सगरमाथाको आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रतिनिधि पासाङ भोटेका अनुसार मौसममा आएको खराबीले सगरमाथा आरोहण प्रभावित भएको छ । 

मौसमका कारण मे १५ तारिखमा आरोहण गर्ने योजना रद्द भएको छ । सम्भवतः मे १४ तारिखको आरोहण योजना पनि रद्द हुनेछ । उक्त मितिमा सगरमाथाको चुचुरोमा पुग्ने योजना बनाएका आरोही आधार शिविर झरिरहेको विभागका प्रतिनिधि भोटेले बताए। उनले भने,“मौसमका कारण आज सगरमाथाको आरोहण हुनसकेको छैन । चौँथो शिविर पुगेका आरोही आज र  भोलि मङ्गलबार सबैजना आधार शिविर आउनुहुन्छ होला ।”
    
मौसम खराबीका कारण अबको तीन/चार दिन सगरमाथा आरोहण नहुने जनाइएको छ । मौसमले साथ दिए मे १८ तारिखदेखि सगरमाथा आरोहण हुने विभागले उल्लेख गरेको छ । रासस

तपाईको प्रतिक्रिया