रेशमलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्चका अधिकृत पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार समेत रहेका रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र काट्ने अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी स्रोतले दिएको जानकारीअनुसार उनलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी परिसर ल्याइएको छ ।
विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए ।
सोही आधारमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सर्वोच्चका एक अधिकारीका अनुसार पत्र लेख्ने विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पत्रबारे सर्वोच्च अदालतले आन्तरिक रुपमा छानबिन थालेको छ भने महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिलहरुले पनि त्यसबारेमा आन्तरिक अध्ययन थालेका छन् ।
सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टको नामबाट जारी भएको पत्रमा केही अस्वभाविक विवरणहरु छन् । सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाबाट पत्र जारी भएको भनिए पनि कुन शाखाबाट पत्र जारी भएको हो भन्ने खुलाइएको छैन ।
अदालतबाट फैसला भइसकेपछि सम्बन्धित जिल्ला अदालतबाट फैसलाको कार्यान्वयन हुने गर्छ । यदि रेशम चौधरीलाई अदालतकै आदेशबाट कैद पठाउनुपर्ने भएमा सर्वोच्च अदालतले जिल्ला अदालत कैलालीलाई पत्र पठाउनुपर्ने थियो । त्यसको साटो कारागारको नाममा पत्र जारी भएको देखिन्छ ।
अर्कोतर्फ, कुनैपनि व्यक्तिलाई पक्राउ वा थुनामा राख्ने पत्रको बोधार्थ प्रहरी महानिरीक्षकलाई दिइँदैन, तर उक्त पत्रमा प्रहरी महानिरीक्षकलाई समेत पत्रको बोधार्थ लेखिएको छ ।
पत्रमा उल्लेखित विवरणहरु अस्वाभाविक भएपनि पत्रमा नाम उल्लेख भएका महिमानसिंह विष्ट सर्वोच्च अदालतकै कार्यरत शाखा अधिकृत हुन् । तर उनले नै त्यो पत्रमा हस्ताक्षर गरेका हुन् वा अरुले हस्ताक्षर दुरुपयोग गरेको हो भन्ने केही खुलेको छैन ।
तपाईको प्रतिक्रिया