सर्वोच्चले गगन थापालाई भन्यो- विचाराधीन मुद्दामा असर पर्नेगरी अभिव्यक्ति नदिनू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अबहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश भएको छ ।
संवैधानिक निकायमा ५२ जनाको नियुक्तिविरुद्धको रिटको बारेमा गगनले अदालतको भूमिकामाथि उठाएको प्रश्नलाई लिएर अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको इजलासले उक्त मुद्दामा ७ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको हो ।
संवैधानिक नियुक्ति भएका पदमा समयावधि सकिने बेला भइसकेको तर पनि सर्वोच्च अदालतले फैसला नगरिकन राखेको भन्दै थापाले अभिव्यक्ति दिएका थिए।
यसरी अभिव्यक्ति दिएपछि अदालतको अवहेलना गरेकाले सजाय गरी पाऊँ भन्दै अधिवक्ता अनन्तराज लुइँटेलसहितले थापाविरूद्ध मुद्दा दायर गरेका थिए।
यसमा लिखित जबाफ पेस गर्ने आदेश दिँदा सर्वोच्चले दुई वटा प्रश्न सोधेको छ। पहिलो- यसमा के कसो भएको हो भनेर प्रश्न गरिएको छ।
दोस्रो- न्याय प्रशासन ऐन २०७३ को दफा १७ अनुसार निवेदकको मागबमोजिम अवहेलनामा कारबाही किन हुनु नपर्ने हो भनेर प्रश्न सोधिएको छ। यस्तै जबाफ माग सँगसँगै सर्वोच्चले थापालाई पनि सचेत गराएको हो।
तपाईको प्रतिक्रिया