
वीरगन्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले लक्ष्यअनुसार राजस्व संकलन नभएपछि घरदैलो अभियान थालेको छ । चालु आर्थिक वर्षमा ७२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ३७ करोड ३३ लाख रुपैयाँमात्र उठेकाले अभियान थालिएको हो ।
वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र राजस्व महाशाखा प्रमुख मनोज कर्णलगायत पदाधिकारी सम्मिलित टोली आइतबारदेखि अभियानमा छ ।
व्यवसाय कर, घरबहाल कर र सम्पत्ति कर तिर्न आनाकानी गरेकाले अभियान थालिएको महानगरले जनाएको छ ।
‘‘दैनिक १३० वटा पसलको अनुगमन गरिरहेका छौँ । औसतमा ८० प्रतिशतभन्दा धेरै पसलले कर नतिरेको भेटिएको छ । हामीले सातदिने सूचना दिएर कर तिर्न आह्वान गरेका छौँ,” राजस्व महाशाखा प्रमुख कर्णले भने ।
महानगरको टोली अनुगमनमा आएपछि मीनाबजार, घण्टाघर चोक, लिंकरोडलगायत स्थानका व्यापारी तथा व्यवसायी सटर बन्द गरेर भागेका थिए । रासस
तपाईको प्रतिक्रिया