
काठमाडौं । प्रहरीले शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनलाई अझ सशक्त बनाउने घोषणा गरेको छ। महासंघको राष्ट्रिय समितिले देशभरका शिक्षकहरूलाई अन्तिम लडाइँका लागि अनिवार्य रूपमा काठमाडौं आइपुग्न आह्वान गरेको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत अपिल गर्दै आन्दोलनमा अझै सहभागी नभएका शिक्षकहरूलाई कर्तव्यबोध गराएका छन्। “काठमाडौं आउन बाँकी साथीहरू, आन्दोलनको मोर्चामा आफ्ना साथीहरूको रगत बगिसक्दा पनि अझै घरमै बस्न सक्नुहुन्छ?” भन्दै सुवेदीले भावुक प्रश्न गरेका छन्। उनले भनेका छन्, “आन्दोलनकारी साथीहरूको पीडाले तपाईंलाई घोच्दैन? कर्तव्यबोध हुँदैन? कृपया यो कुरा मनन गर्नुहोस् र यथासिघ्र काठमाडौं आइपुग्नुहोस्।”
सुवेदीले आन्दोलन अब अन्तिम चरणमा पुगेको उल्लेख गर्दै सबै शिक्षकको सक्रिय सहभागिता अनिवार्य रहेको बताएका छन्। आइतबार साँझ महासंघले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा भएको प्रहरी दमनको विरोधमा सबै पेशागत संघसंस्था र शिक्षा सरोकारवालालाई ऐक्यबद्धता जनाउन आह्वान गरेको थियो।
आइतबारको झडपमा पाँच प्रहरी र एक पत्रकारसहित २६ जना घाइते भएको प्रहरी स्रोतले जनाएको छ। तर महासंघले ६२ जना शिक्षक तथा कर्मचारी घाइते भएको दाबी गर्दै तीमध्ये करिब एक दर्जनको अवस्था चिन्ताजनक रहेको बताएको छ।
महासंघले आज पनि बिहान ११ बजेदेखि माइतीघर–बानेश्वर क्षेत्रका विभिन्न स्थानमा आन्दोलन जारी रहने जनाएको छ। महासंघ अध्यक्ष सुवेदीले अग्रगामी विद्यालय शिक्षा ऐनबिना आफूहरू कार्यक्षेत्रमा फर्किने अवस्था नरहेको स्पष्ट पारेका छन्।
तपाईको प्रतिक्रिया