
काठमाडौं । ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को उपाधि दोस्रो पटक आफ्नो पोल्टामा पार्न सफल भएको छ।
शनिबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो। अघिल्लो संस्करणमा पनि ललितपुरले धनगढी एफसीलाई ३–२ ले हराउँदै उपाधि जितेको थियो।
फाइनल खेलमा ललितपुरका इमोह इजाकियल र पापा इबाउ केबेले गोल गर्दै टोलीलाई जित दिलाए। खेलको ४२औँ मिनेटमा मनोज राईको क्रसलाई इजाकियलले सिक्स यार्ड बक्स नजिकबाट हेड गर्दै सुरुआती अग्रता दिलाएका थिए। तर ६४औँ मिनेटमा पोखराका सुदिल घिसिङले बराबरी गोल फर्काए। त्यसपछि ७४औँ मिनेटमा पापाले निर्णायक गोल गर्दै ललितपुरलाई उपाधि दिलाए।
जितसँगै ललितपुर सिटी एफसीले नगद ८० लाख रुपैयाँ पुरस्कार हात पारेको छ भने उपविजेता पोखरा थन्डर्सले ३० लाख रुपैयाँमा चित्त बुझाएको छ।
तपाईको प्रतिक्रिया