
बेलायत । नेपाली राजदूत घिमिरेद्वारा हाउस अफ कमन्सका सभामुखसँग शिष्टाचार भेट गरेका छन्। बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले हालै वेस्टमिन्स्टरस्थित बेलायती संसद्को तल्लो सदन ‘हाउस अफ कमन्स’का सभामुख सर लिन्डसे होयलसँग शिष्टाचार भेट गरेका छन्।
उक्त भेटमा राजदूत घिमिरेले बेलायती संसद्को ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै नेपालका सभामुख देवराज घिमिरेको सन्देश सुनाएका थिए। उनले नेपालको संसद् समावेशी रहेको जानकारी दिँदै नेपालसम्बन्धी बेलायती सर्वदलीय संसदीय समितिको सहयोगप्रति आभार प्रकट गरेका थिए।
राजदूत घिमिरेले नेपाल र बेलायतबीच दुई शताब्दीभन्दा लामो आत्मीय तथा सौहार्दपूर्ण सम्बन्ध रहेको स्मरण गराउँदै उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्त्वमा जोड दिए। साथै, नेपाललाई बेलायतबाट निरन्तर र थप सहयोगको आवश्यकता रहेको धारणा पनि व्यक्त गरेका थिए।
विशेषगरी जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, नेपालको समृद्धिको आकांक्षा पूरा गर्न तथा सन् २०२६ सम्ममा नेपाल अल्पविकसित मुलुक (एलडिसी) बाट स्तरोन्नतिपछि प्राप्त हुने प्रगतिलाई दिगो बनाउन बेलायत सरकारको निरन्तर सहयोग आवश्यक रहेको उनको भनाइ थियो। उनले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका गुनासोहरू यथाशीघ्र सम्बोधन हुने अपेक्षा पनि व्यक्त गरे।
सभामुख होयलले नेपाल–बेलायतबीचको ऐतिहासिक तथा विशेष सम्बन्धको स्मरण गर्दै भविष्यमा दुवै देशका संसदीय समूहहरूबीच सहकार्यको सम्भावना रहेको धारणा राखेका थिए। दूतावासद्वारा जारी विज्ञप्तिअनुसार उनले बेलायत सरकारले नेपालको आवश्यकता र प्राथमिकतासँग मेल खाने क्षेत्रमा सहयोग र सहकार्य जारी राख्ने विश्वास व्यक्त गरेका छन्।
तपाईको प्रतिक्रिया