सोमबार ५ जेठ २०८२
समाज

प्रधानमन्त्री र मन्त्रीहरूको सहभागीतामा यसरी मनाइयो सहिद दिवस

बुधबार माघ १६, २०८१/ Wednesday 01-29-25

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीहरूले सहिदहरुको सम्मानस्वरुप श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सहिद दिवसका अवसरमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीहरू प्रकाशमान सिंह, विष्णु पौडेलसहित मन्त्रीहरू सहिदगेट र सहिद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण प्रकट गरेका हुन् ।

प्रजातन्त्र स्थापना एवं पुनः स्थापना तथा विभिन्न कालखण्डमा जीवन आहुति दिनेहरूको सम्झनामा सरकारले माघ १६ गते सहिद दिवस मनाउँदै आएको छ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सहिद सप्ताहको अन्तिम दिन बुधबार भव्य रूपमा सहिद दिवस मनाउने निर्णय गरेको थियो ।

विसं २०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट सहिदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइने गरेपनि त्यसयता लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । सहिदगेटपछि प्रधानमन्त्रीसहित मन्त्रीहरू लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदप्रति सम्मान प्रकट गरे ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा सरकारले मृत्युदण्ड दिएको थियो । 

तपाईको प्रतिक्रिया