सोमबार ५ जेठ २०८२
अर्थ

लगातार ६ कारोबार दिनपछि १९ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

सोमबार जेठ ५, २०८२/ Monday 05-19-25

काठमाडौं । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १९.३० अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६२८ मा कायम भएको छ ।

नेप्से बढ्दा पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ८ अर्ब ५० करोडको कारोबार भएकोमा आज ७ अर्ब ३५ करोडको भयो ।

आज ३२४ वटा धितोपत्रको एक करोड ६२ लाख पाँच हजार ५५८ कित्ता सेयर किनबेच भएको हो। सोमबार १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० वटाको घटेको छ। यस्तै, दुई कम्पनी स्थिर रहेको छ।

यसदिन पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। 

यस्तै, सिन्धु विकास बैंक र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य ९.९९ र तेह्रथुम पावरको मूल्य ९.९८ प्रतिशतले बढेको छ।

यस्तै, विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ४४४ रूपैयाँमा झरेको छ।

यस्तै, छ्याङ्दी हाइड्रोपावरको मूल्य ४.४० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३०४ रूपैयाँ ०१ पैसा कायम भएको छ। 

सोमबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता एक हजार ७२४ रूपैयाँमा ५९ करोड ७६ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ४.९२ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३१४ रूपैयाँ १० पैसामा ५१ करोड ७ लाख बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन समूहको १.२४ प्रतिशतले घटेको छ भने बाँकी १२ समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

तपाईको प्रतिक्रिया