सोमबार ५ जेठ २०८२
समाज

सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सोमबार जेठ ५, २०८२/ Monday 05-19-25

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध पाँच करोड ७९ लाख बिगो दाबी गर्दै अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ।

उक्त मुद्दामा तत्कालीन सहायक निर्देशक रमेश पोखरेल समेत पाँच जना र एक कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ। आर्थिक वर्ष ०७५/७६ मा केन्द्रबाट विभिन्न उपकरण खरिदमा पाँच करोड ७९ लाख बिगो दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेले सोमबार विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरूले आरआईएससी र एचसीआई सर्भर खरिद प्रक्रियामा ठूलो रकम भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

अख्तियारले मुद्दा दायर गरेका अन्यमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, तत्कालीन लेखा अधिकृत निमबहादुर वली, म्याक्स इन्टरनेसनल प्रालि पुतलीसडक र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकबर हुसेन रहेका छन् । 

आर्थिक वर्ष २०७५/७६ मा ‘सप्लाई, डेलिभरी एन्ड इन्स्टलेसन एन्ड कमिसनिङ अफ आरआईएससी एन्ड एससीआई सर्भर’ खरिद सन्देहपूर्ण रहेको भन्दै उजुर परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धान हुँदा राष्ट्रिय सूचना प्रविधि केन्द्रले २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ ३३ पैसा लागत अनुमान तयार गरी पेस गरेको बोलपत्रमा मिलेमतोमा पाँच करोड ७९ लाख रुपैयाँ भ्रष्टाचार भएको पाइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । 

तपाईको प्रतिक्रिया