सोमबार ५ जेठ २०८२
खेलकुद

युएईलाई हराउँदै नेपाल टी-२० विश्वकपको ग्लोबल छनोटमा

सोमबार जेठ ५, २०८२/ Monday 05-19-25

काठमाडौं । नेपाल पहिलोपटक आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको छ ।

सोमबार सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपालले युएईलाई ५ विकेटले हरायो ।

सोमबार बैंककमा सम्पन्न खेलमा यूएईले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा कप्तान इन्दु वर्माले सर्वाधिक ३० रन बनाइन् । उनले २८ बलमा दुई चौका प्रहार गरिन् । यस्तै, रुविना क्षेत्रीले १८ बलमा तीन चौकासहित २३ रन बनाइन् । सम्झना खड्काले २१ रन थप्दा पूजा महतोले १३ रन जोडिन् । 

त्यसअघि, टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रनको योगफल खडा गरेको थियो ।

यूएईकी कप्तान ईशा ओजाले ३९ रन बनाएकी थिइन् । यस्तै, थिर्था सतिशसले २१, हिना हटचन्दनीले २० र लाभाया केन्यले १२ रन थपिन् ।

नेपालबाट मनिशा उपाध्यायले चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी मनिशाले २० रनमात्र खर्चिइन् । यस्तै, कविता कुवँरले दुई विकेट लिँदा राजमति ऐरीले एक विकेट लिइन् ।

यो नतिजासँगै प्रतियोगिताबाट ग्लोबल क्वालिफायरमा छनोट हुने दुई टोलीको टुंगो लागेको छ । प्रतियोगिताबाट नेपाल र थाइल्यान्डले ग्लोबल क्वालिफायरमा स्थान पक्का गरेका हुन् । सुपर–३ को दुवै खेलमा पराजित भएको यूएईको भने सम्भावना समाप्त भएको छ ।

अब प्रतियोगिताको अन्तिम खेलमा नेपालले मंगलबार थाइल्यान्डविरुद्ध खेल्ने तालिका छ ।

तपाईको प्रतिक्रिया