
काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ को पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । यूएईले २० ओभर खेल्दै सात विकेटको क्षतिमा ११४ रन बनाएको हो ।
यूएईका लागि कप्तान ईशा ओझाले सर्वाधिक ३९ रन बनाइन् । ३९ बलको सामना गरेकी उनले दुई चौका र एक छक्का हानिन् । उसका लागि तीर्थ सतीशले २१, हिना होतचन्दनी २० रन जोड्दा लावन्या केनीले १३ रन बनाइन् । नेपाली बलरसामू अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
यूएईविरुद्ध टस जितेर सुरुमा फिल्ड रोजेको नेपालका लागि मनिषा उपाध्यायले उत्कृष्ट बलिङ गरिन् । चार ओभर बलिङ गरेकी उनले २० रन दिएर चार विकेट हात पारिन् । कविता कुँवरले चार ओभर बलिङ गर्दै १८ रन खर्चिएर दुई विकेट हात पर्दा राजमती ऐरीले चार ओभर बलिङ गर्दै २२ रन दिएर एक विकेट लिइन् ।
आजको खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।
तपाईको प्रतिक्रिया