बुधबार १७ बैशाख २०८२
राजनीति

सत्तारुढ दलको बैठक : ‘मेजर ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता

बुधबार बैशाख १७, २०८२/ Wednesday 04-30-25

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बुधबार भएको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे छलफल भएको छ ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको नीति तथा कार्यक्रमबारे सुझाव प्राप्त गर्न बैठक आयोजना गरिएको बताए । सत्ता सहयात्री दलहरूले नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयमा महत्त्वपूर्ण सुझाव प्राप्त भएको जानकारी दिए ।

‘सत्ता सहयात्री दलहरूले आगामी वर्षको नीति तथा कार्यक्रममा समेट्नुपर्ने मुख्य मुख्य विषय समेट्नेबारे महत्त्वपूर्ण सुझाव दिनुभयो । लोकतन्त्रलाई थप सुदृढ गर्ने गरी विभिन्न कोणबाट भइरहेका हमला तथा आक्रमणलाई सामूहिक रूपमा जवाफ दिने कुरा छन् । विकास निर्माण समयमै सकिने र उच्च प्राथमिकता दिनुपर्छ भन्ने भएको छ । बजेट छरिएको, स्रोतहरूको अपव्यय भइरहेको छ’, उनले भने ।

यस्तै अर्थतन्त्रलाई लयमा ल्याउन सरकारको क्षमता बढाउने, युवा पुस्तालाई आशा र विश्वास जगाउन उद्यमशीलताको विश्वास जगाउने खालको कार्यक्रम ल्याउनेबारे सुझाव आएको उनको भनाइ छ ।

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीका अनुसार अर्थतन्त्रलाई लयमा ल्याउने गरी आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव सत्तारुढ दलका नेताहरूको छ ।

‘समग्रमा विगत वर्षको भन्दा मेजर ब्रेक थ्रु हुने गरी नीति तथा कार्यक्रम आओस् भनेर नेताहरूले सुझाव दिनुभएको छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया