आइतबार २१ बैशाख २०८२
बिजनेस

नोटलाई कसरी सफा र सुरक्षित राख्ने?

शनिबार असोज २४, २०७७/ Saturday 10-10-20

नेपालमा नयाँ नोट हरेक दशैंको एक अभिन्न संस्कृतिको रुपमा विकास भइसकेको छ। यहि संस्कृतिलाई पछ्याउदै नेपाल राष्ट्र बैंकले प्रत्यक वर्ष दशैंमा नयाँ नोट बजारमा पठाउँने गर्दछ। यो वर्ष बढ्दो कोरोना संक्रमणका कारण नयाँ नोट वितरण नगर्ने निर्णय गरिसकेको छ। तर पनि बजारमा नयाँ नोटको आपुर्ति गरेको राष्ट्र बैंकले जानकारी दिएको छ। 

राज्यको ढुकुटीबाट हरेक वर्ष करोडौ रुपैयाँ खर्च गरेर दशैंका लागि भनेर नेपाल राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नोट छपाउने गर्दछ, साथै नागरिकको गुणासो र आवस्यकतालाई ध्यानमा राखेर राष्ट्र बैंकका सबै शाखा लगायत अन्य बैंक र तिनका शाखाबाट पनि सटही तथा वितरण गर्ने गर्दछ। राज्य नागरिक प्रति यति जवाफदेहि बनेर चार्डवार्डलाई लक्षित गरी, आमन्त्रीत पाहुनालाई टिका लगाई आर्शिरवाद र नयाँ नोट दक्षिणा दिउन भन्छ भने हामी नागरिकको दाइत्व राज्यको त्यो सम्पति नोटको संरक्षण गर्नु हुन्छ की हुदैन? यो प्रश्न निकै गम्भिर बन्दै गइरहेको छ, किनकी नेपाल राष्ट्र बैंकले हरेक वर्ष करोडौ झुत्रा नोट जलाउनुले हामी नागरिकहरु राज्य र राज्यको सम्पति सुरक्षा तथा संरक्षणमा कति उदासिन् छौ भन्ने कुरा स्पष्ट पारेको छ।

नाेटमा यसरी लेख्नु वा केरमेट गर्नु हुदैन 

कुनै पनि देशमा नयाँ तथा सफा नोट राख्नु वा चलन चल्तिमा ल्याइनु त्यो देशको सभ्यताको परिचय हो। त्यस्तै हाम्रो देशमा पनि विदेशी नागरिक भ्रमणमा आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नासाथ ऊ नेपाली मुद्रा सटही गर्न काउन्टरमा पुग्दछ। उसको हातमा पर्ने नोटको आधारमा उसले नेपाल र नेपाली नागरिकका बारेमा धारणा बनाउँदछ। उसको हातमा केरमेट गरिएका, रङ पोतिएका, च्यात्तिएका झुत्रा नोट परेमा उसको मष्तिस्कमा नेपालीहरु असभ्य रहेछन् भन्ने धारणा बन्दछ। यहि कुरालाई मनन गर्र्दै नेपाल राष्ट्र बैंकले सफा नोट नीति लागु गरेको छ। 

नाेटमा रंग, टिका वा पानीमा भिजाउनु हुदैन, यसाे गर्दा नाेट  छिटाे च्यात्तिन सक्छ । 

चलनचल्तीमा पठाउन अयोग्य नोटहरु नेपाल राष्ट्र बैंकले सर्वसाधारणबाट, बैंक तथा वित्तीय संस्था मार्फत् संकलन गरी जलाउने (नष्ट) गर्ने गर्दछ। यसरी पुराना नोटहरु संकलन गरी जलान गर्दा नेपाल राष्ट्र बैंकले बजारमा नयाँ नोट पठाउनु पर्दछ। जसका लागि नोट छपाई गर्नुपर्ने हुन्छ। नोट छपाई नेपालमा हुँदैन। विदेशमा नोट छपाई गर्दा राज्यको करोडौँ रुपैँया बाहिरिन्छ। यसबाट शोधान्तर स्थितिमा प्रतिकुल प्रभाव पर्न जान्छ। नोटलाई सुरक्षित, टिकाउ, विश्वसनिय बनाउन नोटमा बिभिन्न सुरक्षण बिशेषताहरु राखिएको हुन्छ। जसले गर्दा नोट छपाई महङ्गो पर्न जान्छ। 

 

हामी नेपालीहरु कुनै न कुनै बहानामा विदेश नगएका निकै कम मात्रामा छौं। विदेश यात्रामा जाँदा अमेरिकी डलर, यूरो, पाउण्ड जस्ता नोट बोकेकै हुन्छौ, ति नोट कति सफा र नयाँ हुन्छन्? त्यो हामी सबैले देखे भोगेकै कुरा हो। ति नोट देख्दा हामी वाहाऽऽऽ कति राम्रो र सफा नोट भन्दै, दङ्ग पर्दै अझैं सफा र सुरक्षित राख्ने प्रयास गर्दछौ भने आफ्नो देशको सम्पति नोटलाई पनि सधै सफा र सुरक्षित राख्न किन सक्दैनौं? 

यसरी कुनै कुनामा कुच्चिएकाे वा नमिलेकाे नाेट छ भने मिलाएर राख्ने गरौ 

राष्ट्र बैंकले चार्ड-पर्व लक्षित गरि दशैंमा बाँडिने नयाँ नोट दशैंमा लगाईने टिका-अक्क्षेताको रङ पोतिएर पुरानो हुने, झुत्रीन र खुईलिन सुरु हुन्छ। दशैंमा दिने आर्शिवाद  “आयुः द्रोणसुते:” अर्थात तिम्रो आयु द्रोणका छोराको जस्तै होस् भन्ने छ भने हामीले टीका र जमरामा लत्पत्याएर नोटको आयु किन घटाइरहेका हुन्छौं? 

नाेटलाई यसरी पट्याएर वा कुच्याएर खल्ति वा पर्समा राख्नु हुदैन 

हामीले साटेको नोट हिफाजत गरेनौँ भने राज्यलाई करोडौँ रुपैँया घाटा लाग्दछ। दशैँमा खानेकुराको जथाभावी उपभोग गर्दा जसरी हामी अस्वस्थ हुन्छौँ, त्यसैगरी नोटको जथाभावी प्रयोग गर्दा अर्थतन्त्र अस्वस्थ हुन्छ। र, नोट छपाई खर्चमा हामीले तिरेको करको अंश बढ्दै जान्छ। जसरी दशैंमा किनेका लुगा हामी जतन गरेर लगाउँछौ, टीका लाग्छ की भनी निधारको ठीक मुनी पर्ने गरी हात थाप्छौं, र पछिसम्म प्रयोग गछौँ, त्यसैगरी दशैंमा साटेका नोटको जतन गरी पछिसम्म उपयोग गर्न सिकौं। 

यस्ताे नाेट तुरुन्तै राष्ट्र बैंक वा सम्बन्धित बैंकका शाखामा गएर साँट्नु पर्छ । 

दशैं जस्तो धेरै दक्षिणा आदानप्रदान हुने चाडमा नोट बढी बिग्रिने भएकोले राष्ट्र बैंकको सफा नोट नितीलाई पछ्याउदै हरेक वर्ष मैले आफ्नो दायित्व सम्झी राज्य र हामी सबै नागरिकहरुको साझा सम्पति नोटलाई के कसरी सधै सफा र सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा केही टिप्स दिने गरेको छु, यो वर्ष पनि त्यसलाई निरन्तरता दिएको छु कृपया यि कुराको पालना गरि नोट सफा र सुरक्षित राखी सभ्य नागरिकोको परिचय दिनुहोस र राज्य प्रति एक अशल नागरिकको कर्तव्यबोध गर्नुहोस्।  

१) सामान्यतया कागजी नोटको आयु ४/५ बर्षको हुन्छ तर दशैंका बेला बजारमा पठाइएका नोट एक बर्षमै पुराना हुने गर्दछन्, त्यसैले दक्षिणा दिदा खुला नोट मात्र नदिई नोटलाई खाम भित्र राखि दिएमा नोटमा रङ्ग लत्पतिन पाउदैन र सुरक्षित हुन्छ। 

२) नोट बोक्दा धेरै नबोकौं साथै कुच्याएर गोजी वा पर्समा हाल्ने प्रवृति धेरैको हुन्छ, त्यसो कदापी नगरौं। हो पैसा नबोकी जिवन चल्दैन, तर सिधा पारेर राख्ने गरौं। 

३) प्रबिधिको उच्चतम् उपयोग गर्दै दशैं लगायतका हरेक किनमेल भिजा कार्ड मार्फत गर्न सकिन्छ। नोट बोक्नु भन्दा कार्डबाट भुक्तानी गर्दा उपभोक्तालाई विभिन्न अफरको निती लागु गर्न राष्ट्र बैंकले नै सबै बैंकलाई निर्देशन जारी गरेमा नागरिक उत्साहित हुने र नोट झुत्रीन बाट बचाउन सकिन्थ्यो। 

४) विभिन्न चार्ड-पर्वमा दक्षिणा दिदा मोबाइल बैंकिङ, कनेक्ट आइपिएस, डिजिटल वालेट, ई-सेवा, खल्ती, आईएमई-पे आदि जस्ता प्रविधीको प्रयोग गर्न सके नोट छिटै झुत्रीन बाट बचाउन सकीन्छ। 

५) मन्दिर, गुम्बा, चैत्य, चर्च तथा मस्जिदहरुमा खुल्ला नोट पानिले भिज्ने वा रङ्ग, टिका लत्पत्तिने गरि नचढाउ, चढाउनै परे १,२ र ५ रुपैयाँका सिक्का चढाउने गरौं। यस बारेमा सम्वन्धित निकायका व्यवस्थापक आफै पनि सचेत रहेर भेटी वा दाण पेटीमा राख्न अनुरोध गर्नु पर्दछ र सुरक्षित पेटीहरुको व्यवस्था गर्नुपर्दछ। 

६) कसै-कसैको नोटमा लेख्ने वा सिग्नेचर गर्ने, वा फोन नंबर र नाम टिप्ने बानी हुन्छ, त्यस्तो काम कदापी गर्नु हुँदैन। अरुलाई दिदा होस वा लिदा सफा र नकुच्चिएको नोट लिने दिने बानी बसालौं। 

नोटको यसरी उचित ढंगले प्रयोग गरेमा नोटको आयु बढ्न गइ नोट छपाईमा हुने राज्यको करोडौं रुपैँया खर्च जोगिन जान्छ। अर्कातर्फ बजारमा सफा नोट हुँदा राष्ट्रको प्रतिष्ठा बढ्न जान्छ भने नक्कली नोटको बिगबिगी पनि घट्न जान्छ। फ्रेस वा नयाँ नोटलाई नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले आफ्नो प्रतिष्ठाको विषय मात्र बनाउनु हुँदैन। राष्ट्र बैंकले पनि नागरिकहरुलाई  नोटको प्रयोग कम गर्न प्रोत्साहित गर्न विभिन्न खालका स्किमहरु ल्याउनु पर्दछ र हामीहरुले पनि नोटको प्रयोग गर्दा यो हाम्रो सम्पत्ती हो भनी उचित ढंगले प्रयोग गर्ने बानी बसाली सभ्य र जिम्मेवार नागरिकको परिचय दिनु पर्दछ। 

तपाईको प्रतिक्रिया