आइतबार २१ बैशाख २०८२
शिक्षा

शिक्षक, जनप्रतिनिधि, कर्मचारीलगायतका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन निर्देशन

शनिबार बैशाख २०, २०८२/ Saturday 05-03-25

काठमाण्डौ । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले शिक्षक, जनप्रतिनिधि, कर्मचारीलगायतले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन दिएको छ ।

नगरले सार्वजनिक सूचना निकालेर सामुदायिक विद्यालय शैक्षिक सुधार योजनाअन्तर्गत मण्डनदेउपुर नगरभित्रका जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन दिएको हो ।

साथै जनप्रतिनिधि, शिक्षक, नगरका कर्मचारी तथा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारीलाई यो वैशाख मसान्तसम्ममा अनिवार्य रूपमा सामुदायिक विद्यालयमा आफ्ना बालबालिका भर्ना गरेको प्रमाणसमेत बुझाउनसमेत सूचनामा भनिएको छ ।

गएको चैत २६ गते नगर शिक्षा समितिको बैठकले गरेको निर्णयलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न/गराउन सूचित गरिएको मेयर टोकबहादुर वाइबाले बताउनुभयो । नगरले निर्णय गरेको तर सबैले कार्यान्वयन नगरेकाले सूचनामार्फत निर्देशन गरिएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया