आइतबार २१ बैशाख २०८२
शिक्षा

कक्षा १२ को वार्षिक परीक्षा सुरु, पहिलो दिन शान्तिपूर्ण सम्पन्न

आइतबार बैशाख २१, २०८२/ Sunday 05-04-25

माध्यमिक शिक्षा परिषद् (राष्ट्रिय परीक्षा बोर्ड) अन्तर्गत कक्षा १२ को वार्षिक परीक्षा आज (शनिबार) देखि सुरु भएको छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

बोर्डका अनुसार परीक्षा आगामी जेठ २ गतेसम्म सञ्चालन हुनेछ। यसपटक देशभर १,५९० परीक्षा केन्द्र र जापानमा १ केन्द्र गरी कुल १,५९१ परीक्षा केन्द्र कायम गरिएको छ। काठमाडौंमा सबैभन्दा धेरै १६२ परीक्षा केन्द्र छन् भने मनाङ र मुस्ताङमा एक–एक केन्द्र तोकिएको छ।

परीक्षामा देशभरका ५,२०२ विद्यालयका नियमिततर्फ १,९८,८७५ छात्र र १,९७,०१३ छात्रा गरी कुल ३,९५,८८८ विद्यार्थी सहभागी छन्। आंशिकतर्फ १,१५,६१७ परीक्षार्थीले फाराम भरेका छन्। यसअनुसार कुल ५,११,५२५ परीक्षार्थी सहभागी हुनेछन्।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार, यस वर्ष सबैभन्दा कम परीक्षार्थी मनाङबाट ४५ जना र सबैभन्दा धेरै काठमाडौंबाट ६८,१३३ जना सहभागी छन्। कारागार तथा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ।

यसैबीच, काठमाडौंको तारकेश्वर नगरपालिका–१० मा रहेको मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुल परीक्षा केन्द्रबाट ७३ वर्षीया सूर्यवती खनालले परीक्षा दिएकी छन्। उनी तारकेश्वर–११ मा रहेको ग्रामीण आदर्श बहुमुखी क्याम्पसकी विद्यार्थी हुन्।

वि.सं. २००९ साउन ९ गते जन्मिएकी खनाल चार सन्तानकी आमा र तीन नातिनातिनाकी हजुरआमा हुन्। सन्तान हुर्किएपछि शिक्षाप्रति रुचि बढेपछि उनले विद्यालय भर्ना भएर नियमित पढाइ सुरु गरेकी हुन्। यसअघि उनले एसईई परीक्षा गोंगबुस्थित चेतना महिला माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी थिइन्। उनका श्रीमान् विद्यालयका शिक्षक हुन्।

तपाईको प्रतिक्रिया