काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने खेल अपराह्न ४ः३० बजे सुरु हुनेछ ।
आजको खेलमा जनकपुर दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रँदा पोखरा प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ ।
हर्मित सिंहको कप्तानीमा रहेको जनकपुरले यसअघि खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ । जनकपुरले काठमाडौं गोर्खाजलाई पराजित गरेको थियो भने कर्णाली याक्ससँग हार व्यहोरेको थियो ।
यता, कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।
एनपीएलका अघिल्ला दुई संस्करणमा यी दुई टोलीबीच भएका खेलमा दुवैले एक–एक जित निकालेका छन् । सन् २०२५ मा पोखराले जनकपुरलाई २५ रनले हराएको थियो भने सन् २०२४ मा जनकपुरले पोखरालाई सात विकेटले पराजित गरेको थियो ।
तपाईको प्रतिक्रिया