धनुषामा श्रीमतीको हत्या गरेर श्रीमानले पनि गरे आत्महत्या, ४ वर्षीय छोरा घाइते
काठमाडौँ । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादले उग्र रूप लिँदा एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार मिथिला बिहारी नगरपालिका–४ भरतपुरका ३५ वर्षीय उमेश यादवले ३० वर्षीया श्रीमती रीनादेवी यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्। त्यसपछि उनले घटनास्थलबाट करिब एक किलोमिटर टाढा गएर रूखमा झुन्डिएर ज्यान लिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार आइतबार बिहान दुवै जना मृत अवस्थामा फेला परेका थिए।
प्रहरीका अनुसार उमेश केही महिनाअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए। त्यसयता दम्पतीबीच निरन्तर पारिवारिक विवाद हुँदै आएको थियो। सोही विवादका कारण रीनादेवी करिब डेढ महिनाअघि चार वर्षीय छोरालाई लिएर माइतीघर मथिलेश्वरमा बस्दै आएकी थिइन्।
माइतीमा बस्न थालेपछि पनि उनीहरूबीचको विवाद रोकिएको थिएन। शनिबार साँझ उमेश ससुराली पुगेका थिए। सोही राति पुनः विवाद भएपछि उनले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
आइतबार बिहान करिब १ बजे घटनाबारे सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। अनुसन्धानका क्रममा ससुराली घरबाट करिब एक किलोमिटर पश्चिमतर्फ उमेशको शव फेला परेको थियो। प्रहरीका अनुसार शव भेटिएको स्थाननजिकै धारिलो हतियारसमेत बरामद भएको छ।
यस घटनामा दम्पतीका चार वर्षीय छोरा पनि धारिलो हतियार प्रहारबाट घाइते भएका छन्। गम्भीर घाइते बालकको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको र उनको अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा घटनामा अन्य व्यक्तिको संलग्नता खुलेको छैन। मृतक दम्पतीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ।
तपाईको प्रतिक्रिया