निर्वाचनअघि नेतान्याहू सरकार संकटमा, सुरक्षा कमजोरीको छानबिन माग्दै हजारौँ सडकमा
काठमाडौँ । इजरायलमा संसदीय निर्वाचन हुन तीन दिन बाँकी रहँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारविरुद्ध हजारौँ मानिस सडकमा उत्रिएका छन्। प्रदर्शनकारीहरूले सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणअघि भएका सुरक्षा कमजोरीको स्वतन्त्र छानबिन गर्न माग गरेका छन्।
शनिबार राजधानी तेल अभिभमा आयोजित प्रदर्शनमा इजरायलका प्रमुख चार विपक्षी दलका नेतासमेत सहभागी भएका थिए। नेतान्याहूका प्रमुख चुनावी प्रतिस्पर्धी तथा पूर्वसेना प्रमुख गादी आइजेनकोट पनि प्रदर्शनमा सहभागी भएका थिए।
‘अक्टोबर काउन्सिल’ नामक समूहले आयोजना गरेको प्रदर्शनमा हमासको आक्रमणमा मारिएका तथा बन्धक बनाइएका व्यक्तिका परिवारका सदस्यहरू सहभागी थिए। उनीहरूले आक्रमणअघि भएका सुरक्षा चूकको छानबिन गर्न स्वतन्त्र सरकारी आयोग गठन गर्नुपर्ने माग गरेका छन्।
प्रदर्शनकारीहरूले सुरक्षा कमजोरीका लागि जिम्मेवार अधिकारीको पहिचान गरी उनीहरूलाई जवाफदेही बनाउन पनि सरकारसँग माग गरेका छन्।
तर, नेतान्याहू सरकारले स्वतन्त्र सरकारी आयोग गठन गर्ने माग अस्वीकार गर्दै आएको छ। सरकारले प्रस्ताव गरेको वैकल्पिक व्यवस्थाअनुसार आयोगका आधा सदस्य सत्तारूढ गठबन्धनले र बाँकी आधा विपक्षी प्रतिनिधिले नियुक्त गर्नेछन्।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा ठूलो मानवीय क्षति भएको थियो। उक्त आक्रमण रोक्न नसकेको विषय नेतान्याहू सरकारमाथि उठ्दै आएको प्रमुख प्रश्नमध्ये एक हो।
इजरायलमा अक्टोबर २७ मा संसदीय निर्वाचन हुँदैछ। निर्वाचनअघि सार्वजनिक भएका जनमत सर्वेक्षणले नेतान्याहू समर्थक समूह र विपक्षी दलबीच कडा प्रतिस्पर्धा हुने संकेत गरेका छन्।
तपाईको प्रतिक्रिया