कोजाग्रत पूर्णिमासँगै आज सकिँदै दशैँ, महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने परम्परा
काठमाडौँ । नेपालीको प्रमुख चाड बडादशैँ आज कोजाग्रत पूर्णिमासँगै समापन हुँदैछ। आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको १५ दिने दुर्गा पक्ष आज साँझ धन, ऐश्वर्य र समृद्धिकी देवी महालक्ष्मीको पूजाआराधना तथा रातभर जाग्राम बस्ने परम्परासँगै सम्पन्न हुन लागेको हो।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा दसैँघरमा राखिएका जमरा विसर्जन गरी महालक्ष्मीको पूजा गर्ने धार्मिक प्रचलन छ। माता दुर्गाका तीन प्रमुख स्वरूप महाकाली, महालक्ष्मी र महासरस्वतीमध्ये आज महालक्ष्मीको आराधना गरेर दुर्गा पक्षलाई बिदाइ गरिन्छ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार कोजाग्रत पूर्णिमाको राति जाग्राम बस्ने व्यक्तिको घरमा महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास छ। यही मान्यताका आधारमा कोजाग्रत पूर्णिमा मनाउने परम्परा रहिआएको छ।
विजयादशमीका दिन नवरात्रको मुख्य पर्व सम्पन्न भए पनि दुर्गा पक्ष भने कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ। लक्ष्मीपूजाभन्दा १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले पनि यस पूर्णिमाको विशेष धार्मिक महत्त्व रहेको छ। कोजाग्रत पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बेलुकी सबै बलिको पूर्ति नभएसम्म देवीको प्रसादस्वरूप दसैँको टीका र जमरा लगाउन शास्त्रसम्मत मानिन्छ। बिहान दसैँघरमा रहेका फूलप्रसाद र जमराका अवशेषलाई नजिकको नदी, तलाउ, पोखरी वा अन्य तीर्थस्थलमा लगेर विसर्जन गर्ने परम्परा छ।
कोजाग्रत पूर्णिमासँगै दसैँको औपचारिक समापन भएपछि भोलिदेखि कात्तिक स्नान तथा आकाशदीप दान गर्ने धार्मिक परम्परा सुरु हुन्छ। यसलाई दसैँको बिदाइसँगै तिहारको तयारी सुरु हुने समयका रूपमा समेत लिने गरिन्छ।
तपाईको प्रतिक्रिया