एमाले भ्रष्टाचारी जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन्। यद्यपि, राष्ट्रिय मुद्दामा भने आवश्यकताअनुसार सहकार्य गर्न सकिने उनको भनाइ छ।
शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले दुई दलबीच राजनीतिक कार्यशैली र दृष्टिकोणमा भिन्नता रहेको दाबी गरे।
उनले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध उभिएको तर एमाले सुशासनको विपक्षमा देखिएको आरोप लगाउँदै दुई दलको राजनीतिक चरित्र फरक रहेको बताए।
प्रचण्डले जनतामा माओवादीको अस्तित्वबारे भ्रम फैलाउन खोजिएको टिप्पणी गर्दै तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत २६ वटा साना–ठूला कम्युनिस्ट घटक एकीकृत भएर नेपाली कम्युनिस्ट पार्टी बनेको उल्लेख गरे। विभिन्न घटक एकीकृत भए पनि पार्टीको मूल विचार र भावना कायम रहेको उनको दाबी थियो।
शान्ति प्रक्रियापछि पार्टीका नाम परिवर्तन भए पनि मूल राजनीतिक कार्यदिशा र जनपक्षीय एजेन्डा नबदलिएको उनले बताए।
दुई ठूला दल मिलेर आफूलाई हटाएको आरोप
एमालेसँगको राजनीतिक भिन्नताबारे चर्चा गर्दै प्रचण्डले आफूले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान सञ्चालन गरिरहेका बेला संसद्का दुई ठूला दल मिलेर आफूलाई सरकारबाट हटाएको स्मरण गरे।
लोकतन्त्रमा पहिलो र दोस्रो दल मिलेर सरकार सञ्चालन गर्नु संसदीय अभ्यासको दृष्टिले उचित नभएको टिप्पणी गर्दै उनले आफूहरू भ्रष्टाचारविरुद्ध संघर्षरत रहेको र तत्कालीन सत्तापक्षले भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाए।
यद्यपि, राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक अधिकारको रक्षाका लागि आवश्यकताअनुसार विभिन्न राजनीतिक दलसँग संवाद र सहकार्य गर्न सकिने उनले स्पष्ट पारे। त्यस्तो सहकार्यलाई पार्टी एकताका रूपमा बुझ्न नहुने उनको भनाइ थियो।
तपाईको प्रतिक्रिया