बिहीबार ११ भदौ २०८३
राजनीति

रसुवाको बाढीबारे चीन गम्भीर : उद्धारमा जुट्न राष्ट्रपति सी र प्रधानमन्त्री ली छ्याङको निर्देशन

बुधबार भदौ १०, २०८३/ Wednesday 08-26-26

काठमाडौं।  रसुवा र केरुङ क्षेत्रमा आएको बाढीपहिरोप्रति चीनले उच्च तहबाट चासो व्यक्त गर्दै उद्धार, राहत तथा विपद् जोखिम न्यूनीकरणका कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले घटनापछि बेपत्ता व्यक्तिको खोजी तथा उद्धारलाई प्राथमिकता दिन र जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिएका हुन्।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार अगस्ट २६ बिहान करिब १०ः३० बजे सिचाङ (तिब्बत) को शिगात्से शहरअन्तर्गत केरुङ काउन्टीको केरुङ बन्दरगाह क्षेत्रमा नेपालतर्फ पहिरो गएको थियो।

घटनालाई गम्भीरतापूर्वक लिँदै राष्ट्रपति सीले बेपत्ताको खोजी तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्न, जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा सार्न र घाइतेको तत्काल उपचार गर्न निर्देशन दिएका छन्।

उनले बाढीपहिरोको निरन्तर निगरानी तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन, वैज्ञानिक ढंगले उद्धार सञ्चालन गर्न र थप विपद् हुन नदिन आवश्यक सावधानी अपनाउन पनि जोड दिएका छन्।

चीन अहिले बाढी नियन्त्रणका लागि महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै सीले सम्बन्धित सबै निकायलाई बाढी तथा आँधीबेहरीबाट हुने जोखिम न्यूनीकरणका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्। साथै सम्भावित जोखिम तथा लुकेका खतराको पहिचान गरी ठूला विपद् तथा दुर्घटना रोक्न पनि उनले जोड दिएका छन्।

प्रधानमन्त्री ली छ्याङको पनि निर्देशन

चिनियाँ प्रधानमन्त्री ली छ्याङले केरुङ क्षेत्रमा भएको बाढीपहिरोपछि बेपत्ता तथा प्रभावित व्यक्तिको संख्या तत्काल यकिन गर्न निर्देशन दिएका छन्।

सिन्ह्वाका अनुसार उनले उद्धार तथा राहतका लागि आवश्यक जनशक्ति परिचालन गर्न र जोखिममा रहेका मानिसलाई व्यवस्थित रूपमा सुरक्षित स्थानमा सार्न निर्देशन दिएका छन्।

लीले उद्धारमा वैज्ञानिक विधि अपनाउन तथा थप विपद् हुन नदिन विशेष सावधानी अपनाउन पनि आग्रह गरेका छन्।

उनले चिनियाँ विदेश मन्त्रालयलाई नेपालसँग सञ्चार तथा समन्वयलाई थप बलियो बनाउन र घटनाबारे तत्काल जानकारी आदानप्रदान गर्न निर्देशन दिएका छन्। साथै उद्धार तथा विपद् व्यवस्थापनका कामलाई समन्वयात्मक रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

चीनमा बाढीको मुख्य मौसम चलिरहेको उल्लेख गर्दै लीले सम्बन्धित निकायलाई विभिन्न क्षेत्रका विपद् जोखिम तथा लुकेका खतराको व्यापक अध्ययन गर्न, निगरानी तथा पूर्वसूचना प्रणाली सुदृढ बनाउन र जनताको जीवन सुरक्षाका लागि जोखिम न्यूनीकरणका उपाय प्रभावकारी रूपमा लागू गर्न निर्देशन दिएका छन्।

नेपालतर्फ रसुवामा पनि बाढीको जोखिम कायमै रहेका बेला चीनको केरुङ क्षेत्रमा भएको घटनापछि राष्ट्रपति र प्रधानमन्त्री तहबाटै उद्धार तथा जोखिम न्यूनीकरणका लागि निर्देशन जारी हुनुलाई घटनाको गम्भीरताका रूपमा हेरिएको छ।

नेपालस्थित बाढी पूर्वानुमान महाशाखाले रसुवामा बाढीको जोखिम अझै कायम रहेको जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत रसुवामा पुनः बाढी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया