कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काको पूरक रिट दर्ता
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काले दायर गरेको पूरक रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ।
देउवा र खड्काले छुट्टाछुट्टै पेस गरेको पूरक रिट निवेदन सर्वोच्च अदालतले मंगलबार दर्ता गरेको हो। निवेदन दर्ता भएसँगै दुवै रिटमाथि बिहीबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
देउवा र खड्काले पूरक रिट निवेदन गत शुक्रबार नै सर्वोच्चमा पेस गरेका थिए। तर केही विषय सच्याउनुपर्ने भएपछि दुवै निवेदन फिर्ता लगिएको थियो। सोमबार पुनः पेस गरिएको निवेदन अध्ययनपछि मंगलबार दर्ता गरिएको हो।
कांग्रेस केन्द्रीय समितिले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका तय गरेको छ। सोही कार्यतालिकालाई यथावत् राख्दै केन्द्रीय निर्वाचन समितिले भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने गरी निर्वाचन कार्यक्रमसमेत सार्वजनिक गरेको छ।
तर देउवा र खड्का पक्षले विशेष महाधिवेशनसम्बन्धी सर्वोच्च अदालतको निर्णयको अन्तिम टुंगो नलागेसम्म नियमित महाधिवेशन अघि बढाउन नहुने दाबी गर्दै आएका छन्। विशेष महाधिवेशनसम्बन्धी सर्वोच्चको निर्णय पुनरवलोकनको अनुमति पाएपछि उनीहरूले त्यससम्बन्धी मुद्दाको अन्तिम किनारा नलागेसम्म महाधिवेशन प्रक्रिया रोक्न माग गरेका हुन्।
पूरक रिटमा केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका बदर गर्नसमेत माग गरिएको छ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा निवर्तमान सभापति देउवा पक्ष सहभागी भएको थिएन।
तपाईको प्रतिक्रिया