काठमाडौँ । प्रतिनिधिसभा बैठकमा बुधबार सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच सवाल–जवाफ भएका छन् ।
मंगलबारको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले दिएको अभिव्यक्तिलाई लिएर रास्वपाका सांसदहरूले आपत्ति जनाएपछि संसद्मा बहस चर्किएको हो ।
थापाले रास्वपाको चुनावी सफलताको पछाडि ‘अल्गोरिदम’ को भूमिका रहेको दाबी गर्दै उक्त पार्टीलाई वैचारिक राजनीतिक शक्ति नभई ‘अराजकहरूको भीड’को संज्ञा दिएका थिए ।
उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रास्वपा सांसद मनिष खनालले बुधबारको बैठकमा सभामुखको ध्यानाकर्षण गराएका थिए । उनले यस्तो टिप्पणी संसदीय रेकर्डमा रहिरहे भविष्यमा गलत सन्देश जाने भन्दै अभिव्यक्ति हटाउन माग गरेका थिए ।
खनालको भनाइपछि एमाले प्रमुख सचेतक ऐन महरले प्रतिवाद गर्न खोजे पनि सभामुख डिपी अर्यालले उनलाई समय नदिई रास्वपाको मागअनुसार निर्णय सुनाएका थिए ।
सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत अभिव्यक्ति आएको ठहर गर्दै रामबहादुर थापा ‘बादल’ले बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।
तपाईको प्रतिक्रिया