बुधबार ३० बैशाख २०८३
राजनीति

प्रधानमन्त्री बालेन अनुपस्थित भएपछि प्रतिनिधिसभा अवरुद्ध, विपक्षीको विरोध

बुधबार बैशाख ३०, २०८३/ Wednesday 05-13-26

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) स्वयंले पेश गर्नुपर्ने माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा शून्य समय सकिएपछि सभामुखले कार्यसूची अघि बढाउन खोज्दा विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका हुन्।

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रस्ताव पेश गर्न समय दिन खोजेका थिए। तर विपक्षी सांसदहरूले प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने अडान राख्दै होहल्ला गरेका थिए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगै नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सदन अवरोध गरेका हुन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बैठकमा उपस्थित नहुने हो भने त्यसलाई “प्रधानमन्त्रीविहीन सरकार” भन्नुपर्ने टिप्पणी गरेका थिए।

प्रधानमन्त्रीबाट जवाफ नआएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका छन्। अध्यक्ष हर्क साम्पाङसहित उक्त पार्टीका सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन्।

 

तपाईको प्रतिक्रिया